साउनमा हुने ‘नेपाल मोबिलिटी एक्स्पो २०२५’ को स्टल बुकिङ बन्द, ४८ ब्रान्ड सहभागी हुँदै

काठमाडौं : नेपाल अटोमोबाइल आयातकर्ता तथा उत्पादक संघले ‘मोबिलिटीमार्फत विकासको सशक्तीकरण’ भन्ने मूल सन्देशका साथ पहिलो ‘नेपाल मोबिलिटी एक्स्पो २०२५’ आयोजना गर्ने भएको छ।
आगामी २०८२ साउन २१ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने एक्स्पोको स्टल बुकिङ बन्द भएको संघले घोषणा गरेको छ। एक्स्पोका लागि स्टल बुकिङमा व्यवसायीको उत्साहजनक सहभागिता देखिएको थियो।
कुल ४४ वटा स्टल उपलब्ध गराइएकोमा ४८ वटा आवेदन प्राप्त भएको संघले जनाएको छ। नेपाल अटोमोबाइल आयातकर्ता तथा उत्पादक संघकी अध्यक्ष रितु सिंह वैद्यले प्राप्त आवेदनका कारण उद्योगका सबै पक्षलाई समेट्नका लागि थप स्टलको व्यवस्था गर्नुपरेको बताइन्।
नेपाल अटोमोबाइल आयातकर्ता तथा उत्पादक संघ नेपालको मोबिलिटी क्षेत्रको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व, रणनीतिक सहकार्य, विकास र समग्र आवाज उठाउनका लागि एउटा एकीकृत मञ्चको रूपमा कार्यरत छ।
नेपाल मोबिलिटी एक्स्पो २०२५ ले अटोमोबाइल प्रदर्शनीमा बिल्कुलै नयाँ दृष्टिकोण प्रस्तुत गर्ने लक्ष्य लिएको छ। यो प्रदर्शनीले आगन्तुक र प्रदर्शक दुवैलाई पहिलेभन्दा बढी मूल्य र अनुभव प्रदान गर्ने आयोजकको अपेक्षा छ।
साथै, यसले नेपालमा उपलब्ध अत्याधुनिक मोबिलिटी समाधान र विकसित भइरहेको मोबिलिटी संस्कृतिको प्रदर्शन गर्ने एक महत्वपूर्ण घटना हुने अपेक्षा गरिएको छ।
प्रदर्शनीका स्टलहरूमा चार पाङ्ग्रे, दुई पाङ्ग्रे र व्यापारिक सवारीहरू ब्रान्डहरू हुनेछन्।
जेठ ७, २०८२ बुधबार ११:५८:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।