दोस्रो अन्तर्राष्ट्रिय मानव संसाधन दिवस मनाइयो

दोस्रो अन्तर्राष्ट्रिय मानव संसाधन दिवस मनाइयो

एजेन्सी : मानव संसाधन क्षेत्रमा कार्यरत विज्ञहरूले अन्तर्राष्ट्रिय मानव संसाधन दिवसका रूपमा मे २० तारिखलाई हरेक वर्ष विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदै आएका छन्।

यसै सन्दर्भमा, नेपालमा २० मे २०२५ मा मानव संसाधन समाज नेपालले १०० भन्दा बढी संघ संस्थाका मानव संसाधन विज्ञहरूको उपस्थितिमा दोस्रो पटक अन्तर्राष्ट्रिय मानव संसाधन दिवस मनाएको छ।

मानव संसाधन समाज नेपाल सन् २०१३ मा वरिष्ठ मानव संसाधन विज्ञहरूद्वारा स्थापित एक गैर नाफामूलक सामाजिक संस्था हो। यसले मानव संसाधन क्षेत्रलाई व्यवस्थापनको एक महत्वपूर्ण पक्षका रूपमा सुदृढ र सशक्त बनाउँदै यस क्षेत्रका विज्ञहरूको विशेषज्ञता अभिवृद्धि गर्न निरन्तर काम गरिरहेको छ।

मानव संसाधन समाज नेपालका प्रादेशिक च्याप्टरहरूका साथै यसको अन्तर्राष्ट्रिय सम्बद्धता भारतको एनएचआरडीएनसँग रहेको छ। संस्थाले मासिक रूपमा ज्ञान आदानप्रदान सत्र, तालिम र सीप विकास कार्यक्रमहरू र राष्ट्रिय मानव संसाधन सम्मेलनहरू जस्ता विभिन्न नियमित कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ।

मानव संसाधन समाज नेपालको आयोजनामा आज नेपालमा दोस्रो पटक विश्व मानव संसाधन दिवस ‘ह्युमानिटी एन्ड एआई लिडिङ एचआर टुगेदर : लिडिङ इन अ न्यू वे, लिडिङ इन अ डिजिटल वर्ल्ड’ भन्ने नाराका साथ पैदल र्याली गरी मनाइयो।

पैदल र्याली के एल दुगड गु्रप अफिस चारखालबाट सुरू भई बागबजार चोक, स्टार मल, सिटि सेन्टर हुँदै पुनः के एल दुगड ग्रुप अफिस चारखालमा आएर सामान्य कोणसभा गरी समापन भएको थियो।

पैदल र्यालीको मुख्य उद्देश्य अन्तर्राष्ट्रिय मानव संसाधन दिवसको उत्सव मनाउनु र विभिन्न संस्थाहरूका मानव संसाधन पेशागतहरूलाई एकत्रित गरी मानव संसाधन समुदायमा एकता र उत्साह बढाउनु रहेको थियो।

कार्यक्रममा संगठनात्मक सफलतामा मानव संसाधनलाई डिजिटल वर्ल्डसँग जोड्ने महत्वपूर्ण भूमिकालाई मान्यता दिन यो कार्यक्रमले महत्वपूर्ण कदमका रूपमा रहेको कुरा उल्लेख गरियो।

जेठ ७, २०८२ बुधबार ०९:४९:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।