थाइल्यान्डमा चांगानको दुई लाख उत्पादन क्षमताको ईभी प्लान्ट सञ्चालनमा

थाइल्यान्डमा चांगानको दुई लाख उत्पादन क्षमताको ईभी प्लान्ट सञ्चालनमा

काठमाडौं : चीनको पहिलो कार निर्माता ग्रुप चांगान अटोमोबाइलले थाइल्यान्डको रायोंगमा आफ्नो पहिलो अन्तर्राष्ट्रिय नयाँ ऊर्जा वाहन (एनईभी) प्लान्टबाट औपचारिक रूपमा उत्पादन सुरु गरेको छ।

यो प्लान्टको हालको वार्षिक उत्पादन क्षमता एक लाख युनिट रहेको छ, जसलाई सन् २०२७ सम्ममा दुई लाख युनिट पुर्याइने लक्ष्य राखिएको छ।

चांगानको महत्वपूर्ण नीति 'भास्ट ओसियन प्लान' अन्तर्गत निर्माण भएको यो प्लान्टले चीनबाहिरै पूर्ण औद्योगिक इकोसिस्टम निर्माण गर्ने कम्पनीको प्राथमिकतालाई जोड दिएको छ।

यो पहिलो अन्तर्राष्ट्रिय ईभी हबमा उत्पादन भएका कारहरूको बिक्री दक्षिणपूर्व एसिया, मध्यपूर्व र अफ्रिका, मध्य र दक्षिण अमेरिका तथा युराएसिया बजारमा हुनेछ।

सन् २०२३ मा थाइल्यान्डमा ब्रान्ड सार्वजनिक भएपछि हालसम्म १४ हजार युनिट बिक्री गरिसकेको चांगान यहाँको 'टप फोर एनईभी ब्रान्ड' बन्न सफल भएको छ।

नयाँ प्लान्टको उद्घाटन राइट ह्यान्ड ड्राइभ दिपल एस०५ रोल आउट गर्दै भएको हो, जुन मोडेल केही समयमै नेपालमा पनि सार्वजनिक हुँदैछ। यससँगै चांगानको कुल उत्पादन दुई करोड ८५ लाख ९० हजार युनिट पुगेको छ।

तीन लाख ९२ हजार वर्ग मिटरमा फैलिएको रायोंग प्लान्टमा वेल्डिङ, पेन्टिङ, एसेम्ब्ली, इन्जिन र ब्याट्री उत्पादनका लागि पाँचवटा वर्कसप रहेका छन्। वातावरणमैत्री डिजाइनमा निर्मित यो प्लान्टले प्राकृतिक प्रकाश, सौर्य ऊर्जा र पानीको पुनः प्रयोग गर्छ।

जेठ ७, २०८२ बुधबार ०८:३३:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।