इजरायलमाथि अन्तर्राष्ट्रिय दबाबपछि गाजामा खाद्यान्न बोकेका ट्रक प्रवेश, वितरण हुन भने सकेन

इजरायलमाथि अन्तर्राष्ट्रिय दबाबपछि गाजामा खाद्यान्न बोकेका ट्रक प्रवेश, वितरण हुन भने सकेन

एजेन्सी : गाजामा ११ हप्ताको नाकाबन्दी पछि राहत सामग्री बोकेका ट्रकहरू प्रवेश गर्न थाले पनि अहिलेसम्म त्यहाँका मानिसहरूसम्म कुनै पनि सहायता पुग्न नसकेको संयुक्त राष्ट्रसंघले जनाएको छ।

इजरायली अधिकारीहरूले मंगलबार ९३ ट्रकमा आटा, शिशु खाना र औषधि गाजा आइपुगेको बताएका छन्। तर, संयुक्त राष्ट्रसंघले ट्रकहरू केरेम शालोम नाकामा आइपुगे पनि मानिसहरूलाई अहिलेसम्म सहायता वितरण नगरिएको स्पष्ट पारेको छ।

संयुक्त राष्ट्रसंघका प्रवक्ता स्टेफेन डुजारिकका अनुसार राहत सामग्री गोदामसम्म पुर्याउन टोलीले इजरायलबाट प्रवेश अनुमति पाउन धेरै घण्टा कुर्नुपरेको थियो, तर पनि सामग्री वितरण हुन सकेन।

अन्तर्राष्ट्रिय विज्ञहरूले अनिकालको जोखिमबारे चेतावनी दिएपछि इजरायलले आइतबार गाजामा ‘आधारभूत मात्रामा खाद्यान्न’ पठाउन अनुमति दिएको थियो।

यसैबीच, बेलायत, फ्रान्स र क्यानडा लगायतका देशहरूले इजरायललाई गाजामा आक्रमण रोक्न दबाब दिइरहेका छन्।

संयुक्त राष्ट्रसंघका मानवीय प्रमुख टम फ्लेचरले मंगलबार आगामी ४८ घण्टाभित्र गाजामा सहायता नपुगे १४ हजार बालबालिकाको मृत्यु हुनसक्ने चेतावनी दिएका छन्।

जेठ ७, २०८२ बुधबार ०७:४३:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।