निजी स्वास्थ्य संस्थाको मापदण्ड बनाउने कार्यदलमा अफिनलाई समावेश गराउन माग

निजी स्वास्थ्य संस्थाको मापदण्ड बनाउने कार्यदलमा अफिनलाई समावेश गराउन माग

काठमाडौं : एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)ले निजी स्वास्थ्य संस्थाको मापदण्ड बनाउने कार्यदलमा निजी स्वास्थ्य संस्थाको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने माग गरेको छ।

अफिनका अध्यक्ष डा. पदम बहादुर खड्काले पत्रमार्फत स्वास्थ्य मन्त्रालयमा राखिएको ‘स्वास्थ्य संचालन मापदण्ड २०७७’ संशोधन कार्यदलमा निजी क्षेत्रका स्वतन्त्र विज्ञ र अफिनका प्रतिनिधि समावेश गर्नुपर्ने आग्रह गरेका छन्। 

डा. खड्काका अनुसार अहिलेसम्म बनाइएको मापदण्ड वैज्ञानिक नभएको निष्कर्षसहित गत पुष महिनामा पनि यही तर्क लिएर मन्त्रालयमा निवेदन दिइएको थियो। 

‘सरकारी स्वास्थ्य संस्थाका प्रतिनिधि मात्रले सर्वसंगठित भौगोलिक, वैज्ञानिक, सामाजिक र नागरिक चाहनालाई समेट्न सक्दैनन्। ८१ प्रतिशत उपचार निजी क्षेत्रमार्फत भएको अवस्थामा, मापदण्ड निर्माणमा निजी स्वास्थ्य संस्था कमाण्डर अफिनलाई पनि प्रतिनिधित्व गरिनुपर्छ,’ पत्रमा भनिएको छ। 

संविधानले स्थापना गरेको मौलिक हक र स्वास्थ्य क्षेत्रमा पटक-पटक फेरिएका मन्त्रालय तथा व्यवस्थाहरूले अझै पनि समस्या समाधान गर्न नसकेको भन्दै अफिनले यो कदम चालेको बताएको छ।

डा. खड्काले यस्तो एकतर्फी कार्यदलले पछिल्लो अवस्था झन पेचिलो बनाउने समेत चेतावनी दिएका छन्। ‘निजी, सरकारी सबै मिली राम्रो निर्देशिका बनाई विवाद सधैका लागि अन्त गर्न आग्रह गर्दै अफिनलाई पनि प्रतिनिधित्व गरियोस,’ पत्रमा लेखिएको छ। 

जेठ ६, २०८२ मंगलबार २१:४८:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।