मोटरसाइकल आपसमा ठोक्किँदा दुई चालकको मृत्यु, दुई जना घाइते

मोटरसाइकल आपसमा ठोक्किँदा दुई चालकको मृत्यु, दुई जना घाइते

बरहथवा : सर्लाहीको बागमती नगरपालिकामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुवै चालकको ज्यान गएको छ।क्षेत्रीय सडकखण्ड अन्तर्गत बागमती–४, जिरायतमा आज बिहान भएको दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन्।

पूर्वपश्चिम राजमार्गको पुतली चोकबाट सोल्टीतर्फ जाँदै गरेको प्रदेश ३-०२-००६ प ७८६८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको बा ५६ प ५२६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँएको थियो। 

दुर्घटनामा रौतहटको बिसुनपुरवा निवासी ३३ वर्षीय नागेन्द्र साह सोनार र काठमाडौं महानगरपालिका–२३, वसन्तपुरका ३० वर्षीय विवेक मानन्धरको उपचारका क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी सरोज राईले जानकारी दिए।

घटनामा ५२६ नम्बरको मोटरसाइकलमा पछाडि सवार रौतहटका ३२ वर्षीया चनचला देवी साह र भारत बिहारकी ३४ वर्षीया मुनीदेवी साह घाइते छन्। दुवै जनाको वीरगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

मृतकको शव अहिले चन्द्रपुरस्थित अस्पतालमा राखिएको छ।

जेठ ६, २०८२ मंगलबार २०:४७:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।