डेङ्गी नियन्त्रणका लागि काठमाडौंका विद्यालयमा सचेतनामूलक कार्यक्रम

डेङ्गी नियन्त्रणका लागि काठमाडौंका विद्यालयमा सचेतनामूलक कार्यक्रम

काठमाडौं : काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभागले डेङ्गी नियन्त्रणका लागि विद्यालयमा सचेतनामूलक कार्यक्रम थालनी गरेको छ।

कामपाको ३२ वटा सामुदायिक विद्यालयका कक्षा ८ र ९ मा अध्ययनरत विद्यार्थीलाई डेङ्गी सङ्क्रमणका बारेमा जानकारी दिइ समुदायमा सन्देश प्रवाह गर्ने उद्देश्यले कार्यक्रम थालिएको कामपाका महामारी रोग रोकथाम तथा नियन्त्रण कार्यक्रमका ‘फोकलपर्सन’ ऋषिप्रसाद भुषालले जानकारी दिए। 

कार्यक्रम पहिलो विद्यालयका रूपमा वडा नं ३ स्थित शिवपुरी माध्यमिक विद्यालय, महाराजगञ्जमा सम्पन्न भइसकेको छ। बर्खायाम सुरू भएसँगै डेङ्गी सङ्क्रमणको जोखिम बढ्ने भएकोले जोखिम घटाउने रोकथाम, नियन्त्रण र उपचारका विषयमा जानकारी दिन सचेतनामूलक कार्यक्रम थालिएको भुषालले बताए।  

तीन हजार दुई सय विद्यार्थीलाई सचेत बनाएर डेङ्गी नियन्त्रणका सन्देश संवाहक बनाउने योजना कामपाको छ। ‘समुदायस्तरमा डेङ्गी रोगको रोकथामका प्रयासका बारेमा छलफल र अन्तरक्रिया चलाएर सम्भावित जोखिम घटाउने वडा कार्यालयको योजना छ’, वडा नं ३ की सदस्य सीता थापाले भने। सचेतनामूलक र क्षमता विकासका कार्यक्रमपछि लामखुट्टेका लार्भा नष्ट गर्ने कार्यक्रम सञ्चालन गर्ने योजना छ। 

अहिले झरी परिरहेको र यस क्रममा जम्मा हुने पानीमा लामखुट्टेका लार्भा हुर्किन सक्ने भएकोले सजगता अपनाउन आवश्यक रहेको कामपा स्वास्थ्य विभागको भनाइ छ।

जेठ ६, २०८२ मंगलबार १९:५७:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।