दण्डहीनतालाई अन्त्य गर्न सके मात्र देशमा सुशासन दिन सकिन्छ : डा.शेखर कोइराला

काठमाडौं : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले दण्डहीनतालाई अन्त्य गर्न सके मात्र देशमा सुशासन दिन सकिने बताएका छन्।
मंगलबार काठमाडौंमा आयोजित ‘बदलिदो विश्व परिवेशमा नेपालले अङगाल्नुपर्ने आर्थिक नीति’ विषयक संवाद गोष्ठीमा बोल्दै उनले अहिले देखिरहेको आर्थिक चहलपहलको कारण रेमिट्यान्स मात्रै भएको धारणा राखे।
उनले भने,‘अरु केही होइन् सुशासन दिन सक्यौं भने, भ्रष्टाचारलाई शून्यमा झारौँ र दण्डहीनतालाई अन्त्य गरौं भने हामी धेरै माथि पुग्छौं । अहिले जे जति चहलपहल देखिरहेको छौं त्यो सबै रेमिट्यान्सबाट मात्रै हो । हामीलाई खाडीमा रहेका नेपालीहरुले बचाइरहेका छन् ।’
त्यस्तै उनले पहिला–पहिला डिजिटलाइजेसन भनेको पढेलेखेकाको लागि मात्र चाहिन्छ भन्ने मानसिकतामा रहेको भन्दै अहिले गाउँको किसानलाई कसरी डिजिटलाइजेसन गर्ने भन्ने विषय महत्वपूर्ण रहेको औंल्याए।
उनले भने,‘पहिला–पहिला मेरो मानसिकता यो डिजिटलाइजेसन भनेको पढेलेखेकाको लागि मात्र हो भन्ने थियो । तर गाउँका किसानलाई कसरी डिजिटलाइजेसन गर्ने भन्ने विषय महत्वपूर्ण रहेछ । त्यहाँबाट उनीहरुले उत्पादन बढाउन सक्छन् । मार्केटमा त्यहाँबाट आफ्नो प्रोडक्ट पुर्याउन सक्छन् ।’
त्यस्तै उनले भ्रष्टाचारमा लिप्त हुने प्रवृत्तिको अन्त्य हुनुपर्ने धारणा राखे ।
जेठ ६, २०८२ मंगलबार १८:२१:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।