पढाउने बहानामा भारत लैजाँदै गरेका १९ जना नाबालकको नाकाबाट उद्दार

पढाउने बहानामा भारत लैजाँदै गरेका १९ जना नाबालकको नाकाबाट उद्दार

बुटवल : भारतका बौद्ध गुम्बामा पढाउने बहानामा लैजाँदै गरेका १९ जना नाबालकलाई रुपन्देहीको बेलहिया नाका (सुनौली) नजिकैबाट प्रहरीले उद्धार गरेको छ। ती सबै नाबालक अभिभावक बिना नै भारततर्फ लगिँदै थिए।

नेपाल-भारतको दशगजा क्षेत्र हुँदै अवैध रूपमा भारत लैजाँदै गर्दा उनीहरूलाई ‘किन इन्डिया’ नामक भारतीय संस्था र भारतको सुरक्षा निकाय एसएसबीको सहयोगमा उद्धार गरिएको हो। ती बालकहरूलाई भारतको कर्नाटक राज्यस्थित विभिन्न बौद्ध गुम्बामा अध्ययन गराउने भनिएको थियो।

रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी सुरज कार्कीका अनुसार ती बालकहरूसँग कुनै आधिकारिक कागजात थिएनन्।

उद्धार गरिएका १० देखि १६ वर्ष उमेरका ती बालकहरू सिन्धुली, सिन्धुपाल्चोक, मकवानपुरलगायतका जिल्लाका हुन्।

राष्ट्रिय बाल अधिकार परिषद्का पूर्व निर्देशक मिलन धरेलका अनुसार विदेशी संस्थाले बालबालिकालाई पढाउन चाहने भएमा शिक्षा मन्त्रालयमा सूचीकरण अनिवार्य हुन्छ। विदेशमा पढाउने संस्था नेपालको शिक्षा मन्त्रालयमा सूचिकृत हुनु पर्ने र यस बारेमा बालबालिकाको अधिकारका संरक्षण तथा पुरा गर्नुपर्ने कानून प्रक्रिया बारेमा धेरै सर्तनामा पुरा गर्नु पर्ने प्राबधान रहेको बताए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

जेठ ६, २०८२ मंगलबार १६:५३:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।