गभर्नर नियुक्ति प्रक्रिया आजै टुंगिने संकेतले सेयर बजारमा उछाल

गभर्नर नियुक्ति प्रक्रिया आजै टुंगिने संकेतले सेयर बजारमा उछाल

काठमाडौं : गभर्नर नियुक्ति प्रक्रिया आजै टुंगिने राजनीतिक संकेत देखिएपछि सेयर बजारमा सकारात्मक उत्साह देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ४९.०९ अंकले उकालो लाग्दै २,६७७.४५ विन्दुमा पुगेको छ। यो वृद्धि १.८६ प्रतिशतको हो। जुन पछिल्ला दिनमा देखिएको उल्लेखनीय सुधार हो।

नेप्सेका अनुसार आज ३१० कम्पनीका एक करोड ६८ लाख ८८ हजार ४५९ कित्ता सेयर ७३ हजार ५४ पटक किनबेच हुँदा कुल कारोबार रकम सात अर्ब ३१ करोड २७ लाख रुपैयाँ नाघेको छ।

आज सबै समूहका उपसूचकहरूमा हरियाली देखियो। होटल तथा पर्यटन समूह सबैभन्दा धेरै ३.४२ प्रतिशतले उकालो लाग्यो। बैंकिङ १.९१, विकास बैंक २.९५, वित्त २.४४, जलविद्युत् २.४५, लगानी समूह २.३३ प्रतिशतले बढे।

त्यस्तै, जीवन बीमा १.३२, उत्पादन तथा प्रशोधन १.८९, लघुवित्त १.१३, म्युचुअल फन्ड ०.३३, निर्जीवन बीमा १.७४, व्यापार १.४९ र अन्य समूह ०.८४ प्रतिशतले उकालो लागेका छन्।

आजको कारोबारमा सिन्धु विकास बैंक लिमिटेड र सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड का सेयरमा सकारात्मक सर्किट लागेको छ।

अर्कोतर्फ, सबैभन्दा धेरै मूल्य घट्ने कम्पनीमा विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड परेको छ, जसको सेयर मूल्य ३.०९ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै राधी विद्युत् कम्पनी लिमिटेड को ४१ करोड ८० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। कारोबार संख्याका हिसाबले भने प्रभु सेलेक्ट फन्ड अगाडि रह्यो, जसको १४ लाख ७२ हजार ३ सय कित्ता सेयर खरिदबिक्री भए।

जेठ ६, २०८२ मंगलबार १६:१९:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।