एमालेसँगको गठबन्धन नतोडिने कांग्रेस प्रवक्ताको दाबी

एमालेसँगको गठबन्धन नतोडिने कांग्रेस प्रवक्ताको दाबी
फाइल फोटो

गोरखा : नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले वर्तमान सत्ता गठबन्धन मजबुत रहेको र टुट्ने कुनै आधार नरहेको दाबी गरेका छन्।

मंगलबार गोरखामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महतले बजारमा फैलिरहेका गठबन्धन भाँडिने अफवाहप्रति ध्यान नदिन आग्रह गरे। ‘म अनावश्यक सूचनाको पछि नलाग्न म अनुरोध गर्दछु’, उनले भने, ‘यो गठबन्धन उच्चकोटीको भएकाले एकअर्काको दृष्टिकोणलाई बुझ्नुपर्दछ। गठबन्धन भन्नेबित्तिकै त्यहाँ साझा दृष्टिकोणको आवश्यकता पर्दछ।’  

उनले राष्ट्र बैंकको गभर्नर नियुक्तिको प्रक्रिया पनि छिट्टै निष्कर्षमा पुग्ने विश्वास व्यक्त गरे। पूर्व अर्थमन्त्रीसमेत रहेका महतले आफ्नो कार्यकालमा अस्तव्यस्त अर्थतन्त्रलाई केही हदसम्म सुधार गरेको दाबीसमेत गरे। ‘सुधारको प्रक्रिया सुरु भएको छ, यतिले मात्र पुग्दैन,’ उनले भने, ‘अब दोस्रो चरणको आर्थिक सुधार योजनामा प्रवेश गर्नुपर्छ।’

महतले हालसम्म संसद्बाट पाँचवटा अर्थसम्बन्धी विधेयक पारित भइसकेको उल्लेख गर्दै ती विधेयक कार्यान्वयनमा ल्याएर समृद्धिको बाटोमा अघि बढ्नुपर्ने बताए।

जेठ ६, २०८२ मंगलबार १५:२७:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।