आर्थिक कूटनीतिमा आईटी क्षेत्रलाई मुख्य प्राथमिकतामा राख्न सांसद बरालको माग

आर्थिक कूटनीतिमा आईटी क्षेत्रलाई मुख्य प्राथमिकतामा राख्न सांसद बरालको माग

काठमाडौं : एमालेकी सांसद तथा सचेतक सुनिता बरालले नेपालको आर्थिक कूटनीतिमा सूचना प्रविधि (आईटी) क्षेत्रलाई मुख्य प्राथमिकता दिनुपर्ने माग गरेकी छन्। 

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले विदेशस्थित नेपाली कूटनीतिक मिसनहरूलाई नेपालको आईटी क्षमतालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने दिशामा सक्रिय बनाउनु पर्नेमा जोड दिइन्।

‘केही कूटनीतिक मिसनहरूले नेपालको आईटी क्षमताबारे सकारात्मक प्रतिक्रिया दिएका छन्,’ उनले भनिन्, ‘अब त्यसलाई अवसरमा बदल्दै आर्थिक कुटनीतिमा आईटी क्षेत्रलाई केन्द्रमा राखेर अगाडि बढ्न आवश्यक छ।’

बरालका अनुसार नेपाल विश्वव्यापी डिजिटल रूपान्तरणको चरणमा छ र यतिबेला आईटी क्षेत्रले आर्थिक वृद्धिमा ठूलो योगदान दिन सक्छ। ‘डिजिटल अर्थतन्त्र परम्परागत क्षेत्रभन्दा अगाडि बढिरहेको छ। हाल यसको हिस्सा विश्वव्यापी जिडिपीको ४.५ प्रतिशतमा पुगेको छ, जुन २.५ प्रतिशतले वृद्धि भइसकेको हो,’ उनले भनिन्।

उनले सरकारलाई आग्रह गर्दै भनिन्, ‘आईटी क्षेत्रमा नेपालको सम्भावना ठूलो छ। त्यसलाई कूटनीतिक एजेन्डा बनाउँदै अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न तर्फ हाम्रो ध्यान जानुपर्छ।’

बरालले नेपालले आर्थिक उन्नतिका लागि परम्परागत सोचभन्दा बाहिर निस्किनुपर्ने र नवप्रविधिलाई अँगाल्दै नीतिगत प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याइन्।

जेठ ६, २०८२ मंगलबार १५:१२:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।