गभर्नर सिफारिस समिति लगत्तै मन्त्रिपरिषद् बैठक बस्ने

काठमाडौं : गभर्नर नियुक्तिको विषयमा सत्तारुढ दल कांग्रेस र एमालेबीच विवाद चलिरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
बैठक मंगलबार साँझ ५ बजेका लागि बालुवाटारमा बोलाइएको छ। आजै प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको भेटपछि बैठक तय भएको हो।
यसअघि सोमबार नै मन्त्रिपरिषद् बैठक बस्ने भनिएको थियो, तर देउवा बालुवाटार नआएपछि ओलीले बैठक स्थगित गरेका थिए।
कांग्रेसले योजना आयोगका पूर्व उपाध्यक्ष विश्व पौडेललाई गभर्नर बनाउने प्रस्ताव अघि सारेको थियो। त्यसैअनुसार सोमबारसम्म सिफारिस समिति बस्ने र मन्त्रिपरिषद्ले निर्णय लिने कांग्रेसको अपेक्षा थियो। तर, ओलीले अन्तिम समयमा देउवालाई बालुवाटार बोलाएर गभर्नरबारे पुनः छलफल गर्ने भनेका थिए।
चैत ११ मा गभर्नर सिफारिस समिति बनाइयो, तर अहिलेसम्म पनि बैठक बस्न सकेको छैन। समितिको बैठक पनि आजै अपराह्न ४ बजेका लागि बोलाइएको छ। आजको बैठकले गभर्नरको टुंगो लग्ने अपेक्षा गरिएको छ।
जेठ ६, २०८२ मंगलबार १४:४६:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।