शहीद घोषणामा त्रुटी भएको प्रचण्डको स्वीकारोक्ति

शहीद घोषणामा त्रुटी भएको प्रचण्डको स्वीकारोक्ति

रूकुम : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद घोषणामा केही त्रुटी भएको स्वीकार गरेका छन्।

मध्यपहाडी लोकमार्ग अभियान अन्तर्गतको टोलीले रूकुमको चौरजहारीमा सशस्त्र द्वन्द्वका घाइते, अपाङ्ग, सहिद परिवार र बेपत्ता व्यक्तिका आफन्तहरूसँग अन्तरक्रियाका क्रममा उनले यस्तो बताएका हुन्।

‘शहीद घोषणामा केन्द्रबाट तल तलको आँकडा मागिएको भए पनि विवरण पठाउँदा केही त्रुटिका कारण सबैलाई समेट्न सकेनौँ,’ उनले भने, ‘अहिलेको गणतन्त्रलाई समाजवादी गणतन्त्रमा रूपान्तरण गर्न सबैको साथ आवश्यक छ। म समाजवादी क्रान्तिको यात्रामा कमी कमजोरी सुधारेर अघि बढ्ने प्रतिबद्धता जनाउँछु।’

चौरजहारी नगर समितिको कार्यालयमा आयोजित कार्यक्रममा सहभागी द्वन्द्वपीडितहरूले आफूहरूले भोगिरहेका समस्या तथा राज्यबाट पाउनुपर्ने अधिकारका विषयमा आफ्नो धारणा राखेका थिए।

घाइते अपाङ्गको उपचार, बेपत्ता व्यक्तिहरूको राज्यद्वारा मान्यता, सहिद परिवारका सन्तानको शिक्षादेखि रोजगारीसम्मका विषयमा अझै ध्यान दिनुपर्ने माग गरिएको थियो।

कार्यक्रममा अध्यक्ष प्रचण्डले पनि जनताको पीडा बुझ्ने, संवाद गर्ने र पार्टीभित्रको समीक्षा गर्दै नयाँ रूपमै जनतामा जान अभियान सञ्चालन गरिएको बताए।

अध्यक्ष प्रचण्डले (सत्य निरूपण तथा मेलमिलाप आयोग) सम्बन्धी विधेयकमा भएको ढिलाइप्रति दुःख व्यक्त गर्दै हाल बनेको समितिले अब कार्यविधिअनुसार काम गर्नुपर्नेमा जोड दिए।

जेठ ६, २०८२ मंगलबार १४:०२:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।