ज्ञानेन्द्र शाहीको आक्रोश- ‘राज्यले कर्णालीमाथि अपराध गरिरहेको छ’

ज्ञानेन्द्र शाहीको आक्रोश- ‘राज्यले कर्णालीमाथि अपराध गरिरहेको छ’
फाइल तस्बिर

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले कर्णालीमाथि अपराध गरिरहेको आरोप लगाएका छन्।

मंगलबार प्रतिनिधि सभाको बैठकमा उनले हुम्ला जिल्लामा हिमपहिरो गएर जनताहरू मरिरहेको अवस्थामा सरकारले एउटा हेलिकप्टर पनि पठाउन नसकेकोमा आक्रोश पोखेका हुन्।

उनले भने, ‘हुम्ला जिल्लामा हिमपहिरो गएको छ। तर, अहिलेसम्म सरकारले उद्धार गरेको छैन। त्यसैले भन्न चाहन्छु- सरकारको दिमागमा जाम लाग्यो कि, आँखामा रतन्धो लाग्यो, कि कानमा ढुसी पर्यो कि, हेलिकप्टरमा खिया लाग्यो ? मन्त्रीहरूको सवारी हुँदा हेलिकप्टर घुमिरहेको छ। तर हुम्लामा हिमपहिरो गएर, हिमताल फुटेर जनताहरु रोइरहेका छन्, एउटा हेलिकप्टर पठाउन सकेको छैन। सरकारले के कर्णालीलाई हेपेको हो?’

यदी सरकारले राज्यबाट कर्णालीलाई अलग बनाउने हो भने आफैँ चलाएर देखाउने चेतावनी दिए। यस्तै, उनले जनता हिमपहिरो गएर अलपत्र परेको अवस्थामा सरकार सगरमाथा संवाद जस्तो नाटकबाजी गरिरहेको पनि बताए।

उनले भने, ‘एउटा सामान्य राज्यमन्त्री जाँदा हेलिकप्टर चढेर जानुहुन्छ तर त्यहाँको जनता हिमपहिरो गएर अलपत्र परेका छन्। कसैलाई वास्ता छैन। यस विषयमा सभामुखले रुलिङ गर्नुपर्छ, कर्णालीका जनता पनि जनता हुन्।’

जेठ ६, २०८२ मंगलबार १३:०२:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।