थाइल्यान्डसामू निरीह नेपाल, अन्तिम खेलमा ७८ रनले पराजित

थाइल्यान्डसामू निरीह नेपाल, अन्तिम खेलमा ७८ रनले पराजित

काठमाडौं : आईसीसी महिला टी२० विश्वकपको एसिया छनोटको अन्तिम खेलमा नेपाल थाइल्यान्डसँग ७८ रनले पराजित भएको छ।

मंगलबार बैंकको टेर्डथाइ क्रिकेट मैदानमा १५९ रनको लक्ष्य पछ्याएको नेपाल नौ विकेट गुमाएर ८० रनमा मात्र समेटियो। थाइल्यान्डको बलिङसामू नेपाल निरीह बन्यो।

नेपालका लागि कविता कुँवरले सर्वाधिक ३४ रन बनाउँदा रामती ऐरीले २० र रुविना क्षेत्रीले १२ रन बनाए। बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

थाइल्यान्डकी ओनिचा कामचोम्फूले चार तथा थिपाद्चा पुथावङले तीन विकेट हात पारिन्।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित २० ओभरमा दुई विकेट गुमाएर १५८ रन बनायो।

उसका लागि दुई खेलाडीले अर्धशतक बनाए। नाथया बोमचाथाम र नान्नापट कोन्चारोयन्काइले ५०–५० रनको पारी खेले। अप्सिरा सुवानचोनराथी २९ रनमा आउट हुँदा नाथाकान चानथामले १५ रन जोडिन्।

नेपालकी राजमती ऐरी र मनिष उपाध्ययाले समान एक–एक विकेट लिए।

जेठ ६, २०८२ मंगलबार १२:३८:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।