लखनउका दिग्भेशलाई एक खेलमा निलम्बन, ५० प्रतिशत म्याच फि जरिवाना

लखनउका दिग्भेशलाई एक खेलमा निलम्बन, ५० प्रतिशत म्याच फि जरिवाना

काठमाडौं : लखनऊ सुपर जायन्ट्स (एलएसजी)का स्पिनर दिग्भेश राठीलाई एक खेलको निलम्बन लगाइएको छ।

जारी सिजनमा तेस्रो पटक आईपीएल आचारसंहिता उल्लंघन गरेको भन्दै उनलाई एक खेलमा निलम्बन लगाइएको छ। यसका साथै अनुशासन कमिटीले उनलाई म्याच शुल्कको ५० प्रतिशत जरिवाना पनि लगाएको छ।

राठीले सनराइजर्स हैदराबाद (एसआरएच)विरुद्धको खेलमा अभिषेक शर्मालाई आउट गरेपछि आचारसंहिता उल्लंघन गरेका थिए। यो घटना हैदराबादले ब्याटिङ गरिरहेको बेला आठौं ओभरमा भएको थियो।

अभिषेक शर्मा आउट भएपछि राठीले उनलाई ‘सेन्ड-अफ’को इशारा गरेका थिए। त्यसपछि अभिषेक शर्मासँग उनको भनाभन पनि भएको थियो। अवस्था नियन्त्रणमा लिन अम्पायर माइकल गफले हस्तक्षेप गर्नुपरेको थियो।

यस घटनापछि राठीको यस सिजनमा कुल डिमेरिट अंक पाँच पुगेको छ, जसकारण उनलाई एक खेलमा निलम्बनको कारबाही भएको हो। उनी बिहीबार हुने गुजरात टाइटन्स (जीटी)विरुद्धको लखनऊको अर्को खेल खेल्न पाउने छैनन्।

राठीले यस सिजनमा पाएका पाँचै डिमेरिट अंक आईपीएल आचार संहिताको धारा २.५ अन्तर्गत छन्। नियमानुसार, चार डिमेरिट अंक बराबर एक निलम्बन अंक मानिन्छ, जसले खेलाडीलाई एक खेल गुमाउन बाध्य पार्छ।

डिमेरिट अंक खेलाडीको रेकर्डमा ३६ महिनासम्म रहने हुनाले, राठी आगामी सिजनहरूमा पनि सतर्क हुनुपर्नेछ। किनकि, आठ डिमेरिट अंकले दुई खेलको र ११ डिमेरिट अंकले तीन खेलको निलम्बन हुनसक्छ।

राठीले यसअघि अप्रिल १ मा पञ्जाब किंग्सका प्रियांश आर्यविरुद्ध आफ्नो सेलिब्रेसन र ब्याटरतर्फ अगाडि बढेकोमा एक डिमेरिट अंक पाएका थिए। त्यसैगरी, अप्रिल ४ मा मुम्बई इन्डियन्सका नमन धीर विरुद्धको सेलिब्रेसनका लागि दुई डिमेरिट अंक पाएका थिए। यी दुवै घटनामा उनको ‘नोटबुक’ सेन्ड-अफ सेलिब्रेशन समावेश थियो।

पञ्जाबविरुद्ध पहिलो पटक आचार संहिता उल्लंघन गरेपछि म्याच अधिकारीहरूले उनलाई किन कारबाही गरियो भन्नेबारे जानकारी दिएका थिए। तर, तीन दिनपछि मुम्बईविरुद्ध कारबाहीमा पर्दा राठीले आफूलाई पहिलो पटक ब्याटरतर्फ अगाडि बढेकाले कारबाही भएको भन्ने लागेको बताएका थिए।

यस घटनामा संलग्नताका लागि अभिषेक शर्मालाई पनि उनको म्याच शुल्कको २५ प्रतिशत जरिवाना लगाइएको छ। यो यस सिजनमा उनको पहिलो आचार संहिता उल्लंघन थियो।

खेलको दौरानमा तनावपूर्ण अवस्था आए तापनि, खेलपछि दुवै खेलाडी राम्रो मुडमा देखिएका थिए। खेल सकिएपछि दुवैले हात मिलाएका थिए र एकअर्कासँग मजाक गरिरहेको देखिएको थियो। त्यो खेल है‌दरावादले १० बल बाँकी रहँदै ६ विकेटले जितेको थियो।

जेठ ६, २०८२ मंगलबार ११:३४:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।