पढिरहेका विद्यार्थी निकालेर जनप्रतिनिधिले नै विद्यालयमा ताला लगाएपछि...

रामेछाप : जिल्लाको मन्थली नगरपालिका-९, पुरानागाउँस्थित स्थानापति माध्यमिक विद्यालयमा जनप्रतिनिधि र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीको उपस्थितिमा तालाबन्दी गरिएको छ।
सोमबार विद्यालयमा पठनपाठन भइरहेकै बेला विद्यार्थीलाई बाहिर निकालेर ताला लगाइएको थियो।
विद्यालय व्यवस्थापन समितिलाई पूर्णता नदिएको भन्दै जिल्ला समन्वय समिति रामेछापकी सदस्य हिराकुमारी गिरी र वडा सदस्य धनलाल तामाङसमेतको उपस्थितिमा विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य धनबहादुर तामाङको अध्यक्षतामा बसेको बैठकले विद्यालयमा तालाबन्दी गर्ने निर्णय गरेको थियो।
गत पुस १५ गते विद्यालय व्यवस्थापन समितिको निर्वाचनबाट सदस्यहरू निर्वाचित भइसके पनि कानुनबमोजिम मनोनीत गर्नुपर्ने सदस्य मनोनीत नगरिएको र अध्यक्ष पनि नचुनिएको आरोप वडासदस्य धनलाल तामाङको आरोप छ।
ज्येष्ठ सदस्यले पटक-पटक बैठक बसी समिति गठन प्रक्रिया अघि बढाउन अनुरोध गर्दा पनि विद्यालय प्रशासनले अटेर गरेको उनीहरूको दाबी छ।
पठनपाठन भइरहेको समयमा विद्यार्थीलाई कक्षाकोठाबाटै बाहिर निकालेर तालाबन्दी गरिएकाले विद्यालयको शैक्षिक गतिविधि ठप्प भएको छ। घटनामा संलग्नमाथि कारबाहीको माग गर्दै विद्यालयका प्रधानाध्यापक शम्भु मण्डलले सोमबार नै जिल्ला प्रशासन कार्यालय रामेछापमा निवेदन दर्ता गराएका छन्।
यस विषयमा छलफल गर्नका लागि प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले तालाबन्दी गर्ने पक्ष र विद्यालय प्रशासन दुवैलाई मंगलबार जिल्ला प्रशासन कार्यालयमा बोलाएका छन्।
जेठ ६, २०८२ मंगलबार १०:४०:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।