एसिया कप र महिला इमर्जिङ टिम्स एसिया कप नखेल्ने चर्चाबारे बोल्यो बीसीसीआई

एजेन्सी : भारत र पाकिस्तानबीच युद्धविराम भए पनि दुई देशबीच तनाव कायमै छ। केही मिडिया रिपोर्टहरूले यसले दुई देशबीचको क्रिकेट सम्बन्धलाई पनि असर गर्न सक्ने दाबी गरिरहेका छन्।
भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई)ले आगामी पुरुष एसिया कप र महिला इमर्जिङ टिम्स एसिया कपबाट बाहिरिने निर्णय गरेको खबर चलिरहँदा बीसीसीआईका सचिव देवजित सैकियाले यसमा सत्यता नभएको बताएका छन्।
समाचार एजेन्सी एएनआईसँगक कुराकानी गर्दै देवजित सैकियाले बीसीसीआईले एशिया कप र महिला इमर्जिङ टिम एसिया कपमा भाग नलिने कुनै पनि निर्णय नगरेको बताए।
उनले भने, ‘त्यस्ता समाचारहरूमा अहिलेसम्म कुनै सत्यता छैन। बीसीसीआईले आगामी एसीसी कार्यक्रमहरूको बारेमा न त कुनै छलफल गरेको छ न त कुनै कारबाही गरेको छ। अहिले हाम्रो ध्यान चलिरहेको आईपीएल र त्यसपछिको इङ्गल्याण्ड सिरिजमा छ।’
भारतले पुरुष एसिया कप २०२५ आयोजना गर्नुपर्नेछ। साथै, महिला इमर्जिङ टिम्स एसिया कप २०२५ श्रीलंकामा आयोजना हुनेछ। केही भारतीय मिडियामा बीसीसीआईले यी दुवै प्रतियोगिताबाट आफ्नो नाम फिर्ता लिनेबारे एसियाली क्रिकेट परिषद् (एसीसी) लाई जानकारी गराएको विषय आएको छ।
पाकिस्तान क्रिकेट बोर्डका समेत अध्यक्ष रहेका मोहसिन नक्वी अहिले एसियाली क्रिकेट परिषद् (एसीसी)का अध्यक्ष छन्।
भारतले पुरुष एसिया कप सहभागी नहुने खबर आएसँगै नेपाली राष्ट्रिय क्रिकेट टोलीले उक्त प्रतियोगिता खेल्न पाउने चर्चा समेत सुरू भएको छ। यदि भारत सहभागी नभए र एसीसीले आठ टोली सहभागी गराउन चाहे नेपालले खेल्न सम्भावनाबारे समेत नेपाली क्रिकेट वृत्तमा चर्चा सुरू भएको छ।
जेठ ६, २०८२ मंगलबार ०९:२०:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।