युद्ध रोक्न रुस र युक्रेनले तत्काल वार्ता थाल्ने ट्रम्पको दाबी, पुटिन र जेलेन्स्कीले के भने?

युद्ध रोक्न रुस र युक्रेनले तत्काल वार्ता थाल्ने ट्रम्पको दाबी, पुटिन र जेलेन्स्कीले के भने?

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनले युद्धविरामका लागि तत्काल वार्ता सुरू गर्ने दाबी गरेका छन्।

ट्रम्पले आफ्नो ट्रुथ सोशल अकाउन्टमा यसबारे उल्लेख गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग दुई घण्टा ‘धेरै राम्रो’ कुराकानी भएको जानकारी दिएका छन्।

‘रूस र युक्रेनले तुरुन्तै युद्धविरामको लागि वार्ता सुरू गर्नेछन्। अझ महत्त्वपूर्ण कुरा, युद्ध अन्त्य गर्नेछन्। जसका सर्तहरू दुई पक्षहरू बीचको सहमतिले निर्धारण गरिनेछ’, ट्रम्पले लेखेका छन्।

ट्रम्पले यसबारे युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई जानकारी गराएको बताए।

यसबाहेक ट्रम्पले युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयन, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन, इटालीका प्रधानमन्त्री जर्जिया मेलोनी, जर्मन चान्सलर फ्रेडरिक मेर्ट्ज र फिनल्याण्डका राष्ट्रपति अलेक्ज्याण्डर स्टबलाई यसबारे जानकारी गराएका छन्।

पुटिनले के भने?
पुटिनले शान्तिको लागि रुसले युक्रेनसँग गरिने सम्झौताबारे छलफल गर्न तयार रहेको बताएका छन्। यद्यपि, उनले यस सम्झौतामा के-के कुराहरू समावेश हुनेछन् भन्ने कुरा स्पष्ट पारेनन्। पुटिनले आफूले संकटको मूल कारणलाई सम्बोधन गर्न चाहेको बताएका छन्।

जेलेन्स्कीले के भने?
उता युक्रेनी राष्ट्रपति जेलेन्स्कीले युद्ध अन्त्य गर्न युक्रेन, रुस, अमेरिका, युरोपेली संघ देशहरू र बेलायतबीच उच्च-स्तरीय बैठक गर्ने विचार गरिरहेको बताएका छन्।

जेलेन्स्कीले अमेरिकालाई यी छलफलहरूबाट आफूलाई टाढा नराख्न पनि अपील गरे। रूसले पनि वार्तामा अर्थपूर्ण तरिकाले संलग्न हुन तत्परता देखाउन आवश्यक रहेको उनको भनाइ थियो।

जेठ ६, २०८२ मंगलबार ०९:०४:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।