हैदरावादसँग हारेसँगै प्लेअफ दौडबाट बाहिरियो लखनउ

एजेन्सी : सनराइजर्स हैदराबादसँग ६ विकेटले पराजित भएसँगै लखनउ सुपर जायन्ट्स इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफ दौडबाट बाहिरिएको छ।
सोमबार एकाना स्टेडियममा टस जितेर पहिले फिल्डिङ रोजेको हैदराबादले लखनउलाई २० ओभरमा ७ विकेट गुमाएर २०५ रनमै सीमित गर्यो। जवाफमा हैदराबादले १८.२ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्यो।
अभिषेक शर्माले २० बलमा ६ छक्का र ४ चौकासहित ५९ रन बनाउँदै आक्रामक सुरूवात गरे। हेनरिक क्लासनले ४७, इशान किशनले ३५, र रिटायर्ड हर्ट भएका कमिन्दु मेन्डिसले ३२ रन जोडे।
लखनउका लागि दिगभेस राठीले २ विकेट लिँदा सार्दुल ठाकुर र विल ओरुकेले १-१ विकेट लिए।
यसअघि, लखनउका ओपनर मिचेल मार्स र एडम मारक्रमले ११५ रनको शतकीय साझेदारी गर्दै उत्कृष्ट सुरूवात दिलाए। दुवैले २८ बलमा अर्धशतक पूरा गरे। मार्स ३९ बलमा ६५ रन र मारक्रम ३८ बलमा ६१ रनमा आउट भए। निकोलस पुरनले ४५ रनको योगदान दिए।
हैदराबादका एसान मालिङ्गाले सर्वाधिक २ विकेट लिए भने हर्ष दुबे, नितिश कुमार पटेल र हर्षल पटेलले समान १-१ विकेट लिए।
१२ खेलबाट लखनउले १० अंक जोडेको छ भने हैदराबाद, प्लेअफबाट पहिल्यै बाहिरिसके पनि, ९ अंकमा पुगेको छ।
आईपीएलमा अब दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्स प्लेअफ दौडमा हुँदा गुजरात टाइटन्स, रोयल च्यालेन्जर्स बैंगलोर र पन्जाब किंग्स प्लेअफमा प्रवेश गरिसकेका छन्।
जेठ ६, २०८२ मंगलबार ०७:२६:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।