Special Video Report : प्रचण्डको लोकप्रिय मेयर अख्तियारको सूचीमा 'महा भ्रष्ट'

काठमाडौँ : सर्लाहीको बागमती नगरपालिकामा रहेको भरत ताल महत्त्वाकाङ्क्षा र भ्रष्टाचारको प्रतीक बनेको छ अहिले। मेयर भरत थापा, जसलाई एक समय सम्मान गरिन्थ्यो, अहिले अकुत सम्पत्ति, बन र भ्रष्टाचारको चार मुद्दा खेपिरहेका छन्।

२०७४ मा मेयर निर्वाचित र २०७९ मा पुनः निर्वाचित थापाले बागमती माछा पोखरीलाई आफ्नै नाममा भरत ताल बनाए। १२१ बिघामा बनेको यो परियोजनामा ६५ करोड खर्च भयो, जुन सङ्घीय, मधेस प्रदेश सरकार बागमती नगरपालिकाको रकम थियो।

उनका बदमासीबारे फाट्टफुट्ट चर्चा भए पनि बदमासीको फेहरिस्त सार्वजनिक भएको थिएन। उनको रजगजका र त्रासका कारण अधिकांश सञ्चारमाध्यम समेत मौन दर्शक बन्न बाध्य भइरहेको अवस्थामा पहिलो पटक उकेराले उनको बदमासीको फेहरिस्त सार्वजनिक गर्यो २०८० पुस १७ मा

थापाले सागरनाथ वन विकास परियोजनाको जमिन अवैध रूपमा अतिक्रमण गरे, वन अधिकारीहरूको चेतावनीलाई बेवास्ता गर्दै। उनले ढुंगा, गिट्टी र बालुवा निकालेर बेचे, जसबाट १६ करोडभन्दा बढी हडपेको आरोप छ। अख्तियारले ३० करोडको हिनामिनाको मुद्दा दायर गरिसकेको छ।

२०८२ सम्म थापामाथि चार मुद्दा दायर भए, जसमा मधेसका पूर्वमन्त्री विजय कुमारसहितको ५६ करोडको भ्रष्टाचार मुद्दा पनि छ। उकेराले ४७ लाख घन मिटर नदीजन्य पदार्थमा १३ लाख घन मिटर हराएको र ३० करोडको सार्वजनिक नोक्सान भएको खुलासा पहिल्यै गरेको थियो।

थापामाथिको मुद्दाको संख्या यसैमा मात्र रोकिएन। उनले ५.३३ करोडको अवैध सम्पत्ति जोडेको आरोप छ, जुन परिवारको नाममा छ। उकेराको खोजमा उनी २०७६ मा माओवादी नेता कुमार पौडेलको हत्यामा जोडिएको देखियो। पौडेलले थापालाई सार्वजनिक कोष दुरुपयोगको आरोप लगाएका थिए। माओवादी केन्द्र र प्रचण्डको समर्थनमा जोगिँदै आए पनि राष्ट्रिय मानवअधिकार आयोगले पौडेलको मृत्युलाई योजनाबद्ध हत्या ठहर्यो। छानबिन गर्न निर्देशन मात्र दिएन, केही प्रहरीको नामै किटेर कारबाही गर्न भन्यो। तर कारबाही भएको छैन अझैँ।

आफ्नो छवि जोगाउन थापाले "मेयर" नामक बायोपिक बनाउन खोजे। तर उकेराको निरन्तर खुलासासँगै उनी विरुद्ध अदालतमा मुद्दा जाने क्रम सुरु भयो। उनी निलम्बित भए र मुद्दाहरू बढ्दै गए। राजनीतिक स्वार्थ पुरा गर्न कलाको दुरुपयोग गर्दै छायाङ्कन सकिएको फिल्म पोस्ट प्रडक्सनमा रोकिएको छ।

भरत थापाको कथा सत्ताको दुरुपयोगको डरलाग्दो सत्य हो। उकेराको निडर पत्रकारिताले भरत तालको सत्य बाहिर ल्यायो, अनुसन्धान गर्ने निकायका पदाधिकारीहरूलाई जबाफदेही बनाउँदै। अब प्रतीक्षा न्यायालयको फैसलाको।

जेठ ६, २०८२ मंगलबार ००:०१:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।