नक्कली पत्रको आधारमा रेशमलाई पाँच घण्टा कारागार पठाउने विष्टको नाममा धरौटी निस्कियो

काठमाडौं : सर्वोच्च अदालतको 'नक्कली' पत्रको आधारमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पाँच घण्टा जेल पठाएका महिमन सिंह विष्ट अदालतले एक लाख धरौटीमा छाड्न आदेश दिएको छ।
सर्वोच्चको शाखा अधिकृत रहेका उनलाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश दिनबन्धु बरालको इजलासले सोमबार एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।
विष्टले अन्य व्यक्तिको हकमा आएको अदालतको फैसलालाई आधार बनाएर चौधरीलाई कारागार चलान गर्न पत्र बोकेर प्रहरी महानिरीक्षक दीपक थापाकोमा पुगेर पक्राउ गराई डिल्लीबजार कारागार चलान गराएका थिए। पछि उनले अनधिकृत रूपमा पत्र लेखेको खुलेपछि सर्वोच्चले कारागारमा दोस्रो पत्र पठाएपछि चौधरी कारागार चलान भएको करिब पाँच घण्टापछि मुक्त भएका थिए।
सर्वोच्च प्रशासनले विष्टलाई जिल्ला प्रहरी परिसर काठमाडौंको जिम्मा लगाएपछि प्रहरीले उनी विरुद्ध लिखतसम्बन्धी कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान गरेको थियो।
जेठ ५, २०८२ सोमबार १८:४७:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।