बेपत्ता आयोगले तीन वर्षपछि पायो पदाधिकारी

बेपत्ता आयोगले तीन वर्षपछि पायो पदाधिकारी

काठमाडौं : बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले करिब तीन वर्षपछि पदाधिकारी पाएको छ। आयोगको तेस्रो कार्यकालका लागि नयाँ अध्यक्षसहित सदस्यहरूले सोमबार पदबहाली गरे।

२०७९ साउन १ गतेदेखि पदाधिकारी विहीन रहेको आयोगमा गत वैशाख ३० गते सरकारले पदाधिकारी नियुक्त गरेपछि सोमबारबाट कार्य प्रारम्भ भएको हो।

बेपत्ता आयोगकी नवनियुक्त अध्यक्ष लीलादेवी गड्तौलाले भद्रकालीस्थित कार्यकक्षमा पदबहाली गरिन्। शपथ ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले संक्रमणकालीन न्यायको मर्मअनुसार पीडितलाई न्याय दिलाउने विषयलाई प्राथमिकतामा राखेर सामूहिक ढंगले काम अघि बढाउने प्रतिबद्धता व्यक्त गरिन्। उनले भनिन्, ‘टिम वर्कको जिम्मेवारी भएकाले सदस्य र विज्ञहरूको राय, परामर्श र सल्लाहका आधारमा बाँकी काम अघि बढाइनेछ। आयोगको कार्य सम्पादनमा आउन सक्ने चुनौतीलाई हटाएर जिम्मेवारी पूरा गर्न हरसम्भव प्रयास गरिनेछ।’

गड्तौलासँगै आयोगमा सदस्यको रूपमा गोपालनाथ योगी (सल्यान), अग्निप्रसाद थपलिया (झापा), सिर्जना पोखरेल (काठमाडौँ) र विनिता नेपाली (कास्की) नियुक्त भएका छन्। उनीहरूले पनि आजै पदबहाली गरे।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले सोमबार सर्वोच्च अदालतमा आयोजित विशेष कार्यक्रममा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगकी अध्यक्ष लीलादेवी गड्तौला र सत्यनिरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष महेश थापालाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

शपथपछि दुई अध्यक्षहरूले आ–आफ्ना आयोगका सदस्यहरूलाई पनि पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए। अब दुवै आयोग चार वर्षे कार्यकालका लागि औपचारिक रूपमा सक्रिय भएका छन्।

बेपत्ता आयोगको जिम्मेवारी सशस्त्र द्वन्द्वका क्रममा हराइएका व्यक्तिको सत्य तथ्य पत्ता लगाउने, परिपूरण उपलब्ध गराउने र यस्ता घटनाहरू पुनः नदोहोरियोस् भन्नका लागि राज्यलाई सिफारिस गर्ने हो। आयोग २०७१ मा गठन गरिएको थियो।

आयोगका प्रवक्ता कविराज पौडेलका अनुसार हालसम्म आयोगमा ३ हजार २ सय ८८ उजुरी परेका छन्। तीमध्ये ७४६ उजुरी तामेली, फर्स्यौट वा अन्य प्रक्रियाबाट टुंगो लागेको छ भने २ हजार ५ सय ४३ निवेदन अझै बाँकी छन्। परेका निवेदनमध्ये २ हजार ५ सय ४७ व्यक्तिलाई बेपत्ता बनाइएको दाबी गरिएको छ।

आयोगमा नयाँ पदाधिकारी नियुक्तिको तीन महिनाभित्र कुनै कारणले वा काबुबाहिरको परिस्थितिले विगतमा उजुरी दिन छुटेको रहेछ भने त्यसको आधार र कारणसहित निवेदन दिन पाउने व्यवस्था छ ।

जेठ ५, २०८२ सोमबार १७:४८:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।