मलाई केपी ओलीले राजनीतिमा आउ भनेर कहिलै भन्नुभएन : राधिका शाक्य

मलाई केपी ओलीले राजनीतिमा आउ भनेर कहिलै भन्नुभएन : राधिका शाक्य

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यले आफू राजनीतिमा प्रवेश गर्ने कुनै योजना नरहेको भन्दै अहिलेको उमेरमा राजनीति गर्नुको अर्थ नभएको बताएकी छन्। 

सोमबार काठमाडौंमा आयोजित आफूले लेखेको पुस्तक ‘करुणा’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले पछिल्लो समय आफू राजनीतिमा सक्रिय हुन लागेकी हुन् कि भन्ने अनुमानहरूबारे प्रतिक्रिया दिइन्। ‘अब निभ्न लागेको बत्ती जस्तै उमेरमा म किन राजनीतिमा आउँ?’ उनले भनिन्, “मैले आफ्नो उर्जाशील जवानीमा पनि राजनीति गरिन। अहिले आएर के पाउँछु र? बरु चुप लागेर बसेको छु, त्यही भएर धेरै कुरा प्राप्त भएको छ।’

उनले राजनीतिमा लागेमा अहिलेसम्म प्राप्त गरेका उपलब्धिहरू पनि गुम्ने सम्भावना हुने संकेत गर्दै, आफू राजनीतिबाट टाढा रहने अठोट दोहोर्याइन्। शाक्यले भनिन्, ‘ तपाईं राजनीतिमा सलबलाउन लाग्नुभयो कि? भन्ने प्रश्नहरू आइरहेका छन्।  सबै ढुक्क हुनुहोस्, म राजनीतिमा आउने मान्छे होइन। मलाई कसैले राजनीतिमा आउन भन्नुभएको पनि छैन, मैले आउँछु भनेको पनि होइन।’

उनले प्रधानमन्त्री ओलीले पनि कहिल्यै राजनीतिमा आउनु वा सक्रिय बन्नु भन्ने आग्रह नगरेको स्पष्ट पारिन्। ‘मलाई केपी ओलीले राजनीतिमा आउ वा सक्रिय बन्नु कहिले भन्नुभएको छैन। आफू राजनीति गर्न भनेर आएको पनि होइन्,’उनले भनिन्। 

शाक्यले आफूलाई ‘सामान्य नेपाली’ र ‘नेपालकी इमान्दार छोरी’को रूपमा प्रस्तुत गर्दै, जीवन र समाजप्रतिको बुझाइलाई पुस्तकमार्फत अभिव्यक्त गर्ने प्रयास मात्रै गरेको बताइन्।

जेठ ५, २०८२ सोमबार १७:३०:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।