सर्कसमा बेचिएकी सरस्वतीको संघर्ष

काठमाडौं : नाम- सरस्वती अधिकारी। उमेर- ३३ वर्ष। काम- प्रत्येक शुक्रबार ठमेलको एलओडी क्लबमा सर्कस देखाउने।
पाँच वर्ष भयो, ललितपुर हरिसिद्धिकी सरस्वतीले कपडामा झुन्डिएर, डोरीमा उभिएर हवाई नाच देखाउन थालेको। तर सर्कसमा ‘एरियल आर्ट’ अनि ‘एक्रोबेटिक्स’ देखाएर दर्शकलाई मनोरञ्जन दिने सरस्वतीको आफ्नै मन चाहिँ निकै बेचैन छ।
त्यो बेचैनी एउटा आमाको रूपमा हो, अभिभावकको रूपमा हो। सर्कसको कर्कशबाट बाहिर निस्कनासाथ त्यो बेचैनीले सरस्वतीको मनलाई बेस्सरी निमोठ्छ।
ननिमोठोस् पनि किन ? सरस्वतीका तीन छोरा छन्। उनको नागरिकताको पहिचान अविवाहित, तीनजना उनकै सन्तान। तर आफ्नै सन्तानसँगको नाता प्रमाणित हुने आधार केही छैन उनीसँग।
०००
हरिसिद्धिमा सानो जस्ताको टहरो छ। त्यो केवल उनको वास हो, आवास होइन। त्यही जस्ताको वासमा छोराहरूले नागरिकता पाउने आश गर्दै उनी टोलाइरहन्छिन्।
उनलाई कहिलेकाहीँ लाग्दो रैछ, सन्तान नजन्माएकै भए हुन्थ्यो । यत्रो कष्ट सहनु त पर्दैनथ्यो।
तर, उनको यो सन्ताप सन्तानप्रतिको मोहभंगभन्दा पनि प्रशासनप्रतिको वितृष्णाले गर्दा हो। हुन पनि, छोराहरूलाई नागरिकता बनाइदिन उनी कहाँ-कहाँ पुगिनन् , वडा कार्यालय अनि जिल्ला प्रशासन कार्यालयमा गएर उनले बग्रेल्ती आँसु बगाएकी छिन्। गयो, आँसु बगायो अनि रित्तो हात फर्कियो।
सरस्वतीले आखिर किन नागरिकताको संघर्ष गर्नु परिरहेको छ? किन उनका छोराहरू अनागरिक छन् ?
यो सबैको पछाडि सरस्वतीले बाँचेको तीतो अतीतको सम्बन्ध छ।
०००
१५ वर्ष अगाडि, सन् २०१० को सेप्टेम्बर १६ तारिख। भारतको आसाममा रहेको एक सर्कसमा बालश्रम विरुद्ध काम गर्ने इस्थर बेन्जामिन स्मृति संस्थाका अभियन्ताहरू आइपुग्छन्। त्यो सर्कसमा एक दर्जनभन्दा बढी बालबालिका थिए, अधिकांश नेपाली।
तिनै बालबालिकाको हुलमा एउटी १८ वर्षीया किशोरी पनि थिइन् जो काखमा दूधे बच्चा च्यापेर बसिरहेकी थिइन्। उनको नाम थियो-सरस्वती चौधरी।
तर, उनको हुलिया १० वर्षअघि हराएकी मकवानपुरकी सरस्वती अधिकारीसँग मेल खायो। खोज्दै जाँदा सरस्वती चौधरी नै सरस्वती अधिकारी भएको पुष्टि भयो।
तर, उनी त्यो स्थानमा पुगिन् कसरी ? सरस्वती र उनका अनागरिक सन्तानहरूको संघर्षको कथाको जरो त्यहीँ छ।
त्यति बेला जम्मा सात वर्षकी थिइन् सरस्वती। घरतिर आइरहने एक काका पर्ने व्यक्ति उनलाई लिन स्कुलमै आइपुगेका थिए। ती काकाले सरस्वतीलाई रंगीचंगी कपडामा सजिएका बालबालिका नाचेको तस्बिर देखाए। सरस्वती लोभिइन्। अनि त्यस्तै रंगीचंगी कपडा लगाएर नाच्न पाउने आशमा उनी काकाको पछिपछि लागेर हेटौँडाबाट नवलपरासीको सुनवल पुगिन्।
सुनवल नेपालकै पहिलो बालमैत्री नगरपालिका हो। तर यही नगरबाट सुरु भयो सरस्वतीको बाल्यपनको अपहरण। सुनवलबाट बेचिएर उनलाई भारतको विभिन्न ठाउँ पुऱ्याइयो। ११ वर्ष वित्यो उतै। अन्ततः आसाम पुऱ्याइएपछि बल्ल उनको उद्धार भयो।
खासमा त सरस्वतीलाई आफू बेचिएको पनि थाहा थिएन। उद्धार भएर नेपाल आएपछि मात्र यो सत्य थाहा पाइन्। यहीँबाट थाहा हुन्छ, सरस्वतीको त्यो भोगाइ कस्तो थियो भनेर।
“नेपाल आएपछि हो मैले म बेचिएकी रहेछु भनेर थाहा पाएको”, हरिसिद्धिको त्यही अँध्यारो कोठामा आफ्नो पुरानो तस्बिर देखाउँदै उनले अतीत सम्झिइन्।
उद्धारका बेला नै सरस्वती दुई जम्ल्याहा सहित तीन सन्तानकी आमा बनिसकेकी थिइन्। उनको उद्धारमा संलग्न दिलु तामाङका अनुसार सुरुमा सरस्वतीको उद्धार हुँदा साथमा सानो छोरा मात्र सर्कसमा थिए। अरु दुई छोरालाई पछि खोजेर नेपाल ल्याइएको हो।
“सर्कसको मालिकलाई प्रहरीको जिम्मा लगाएपछि त्यहीँको चाइल्ड वेलफेयरसँग समन्वय गरेर अन्य दुई जनालाई खोज्यौँ र नेपाल ल्यायौँ।”
सानोमा बुबाले गरेको माया असाध्यै याद आइरहेको थियो उनलाई। नेपाल फर्किनासाथ सरस्वती आफ्नो घर पुगिन्। तर, घर पुग्दा थाहा भयो हराएकी छोरी खोज्दाखोज्दै बुबाको मृत्यु भइसकेको थियो।
घर टेकेको खुशीमा बुबाको वियोगान्त खबर मिसिँदा उनको मन कस्तो भयो होला?
धन्न, आमा थिइन्। आमालाई गम्लङ्ङ अँगालो हालेर उनी धित नमरुन्जेल रोइन्।
हुन त सरस्वतीको बुबा उनलाई खोज्दै सुनवलसम्म पनि पुगेका थिए। मकवानपुरबाट हराएका थुप्रै बालबालिका सुनवलमा भेटिएपछि उनको साथ लागेर घर पनि फर्किए। तर, सरस्वती चाहिँ सर्कसकै कर्कशमा भुलिन्।
“बाबाले म भेटियोस् भनेर गढीमाई मेलामा भाकल गर्नु भएको थियो रे। एक पटक मात्र भए पनि छोरीको अनुहार हेर्न पाए हुन्थ्यो भन्नुहुन्थ्यो रे”, उनले बुबासँगको अन्तिम भेट सम्झिँदै भनिन्, “सुनवलमा बाबासँग नफर्किएकोमा मलाई त्यस बेला सारै दुःख लाग्यो । त्यही हो मैले मेरो बाबालाई अन्तिम पटक देखेको।”
१३ वर्षमा बिहे, १७ वर्षमा बिधुवा
भारतका विभिन्न सर्कसमा काम गरिरहँदा नै १३ वर्षको उमेरमा सरस्वतीको बिहे भएको थियो। सर्कस मालिकले उनलाई त्यहीँ काम गर्ने उनीभन्दा १५ वर्ष जेठा युवकसँग बिहे गराइदिए।
सरस्वतीलाई त्यति बेला न बिहे भनेकै थाहा थियो न त्यसपछि आइपर्ने बाधा। एकदिन सर्कस मालिकले ‘यो तिम्रो बुढा’ भनिदिए अनि त्यही क्षण बिहे भएको मानियो।
सरस्वतीका श्रीमान् सर्कस देखाउने भित्ताहरूमा चित्र कोर्थे अनि रङ भर्थे। सरस्वती सर्कसमा टाँगिएका डोरीमा साइकल चलाएर खेला देखाउँथिन्।
“केटाको बिहे गराइदियो भने उसको परिवार हुन्छ अनि यतै बस्छ भनेर मेरो विवाह गरिदिएका रहेछन्”, उनले त्यति बेलाको क्षण सम्झिइन्, “काम एकदम राम्रोसँग गर्ने रहेछ। मलाई पनि चित्र बनाउन सिकाउँछ भन्ने लागेको थियो। त्यस बाहेक बिहे भएपछि के हुन्छ, के गर्ने भन्ने थाहा थिएन। मलाई त सर्कसमा खेल्न पाए पुग्थ्यो।”
तर, ती कलिली बालिकालाई के थाहा आफ्नो सपनामा तुषारापात भइरहेको। बिहे भएको केही महिनामै उनको रजस्वला बन्द भयो। आफू गर्भवती भएको अरूबाट थाहा पाइन्।
अनि १३ वर्षको उमेरमा उनी जुम्ल्याहा सन्तानको आमा भइन्।
“हातखुट्टाहरू सुन्निएको थियो। त्यस बेला कति रुन्थेँ। रोएरै पनि सर्कसमा काम गर्थेँ। जुम्ल्याहा बच्चा भएकै कारण पेट धेरै ठूलो भएको रहेछ भनेर अहिले पो बुझ्दै छु”, सितिमिति सम्झन नचाहने घटनालाई कोट्याउँदै उनले भनिन्, “त्यही बेला हो मैले सर्कसमा गएपछि पहिलो पटक आमालाई सम्झिएको । मलाई घर फर्कन मन लागेको थियो।”
तर त्यतिन्जेल धेरै ढिलो भइसकेको थियो।
जुम्ल्याहा सन्तानपछि पनि उनको अर्को छोरा जन्मिए। तर सरस्वतीका पति रक्स्याहा थिए। उनलाई खुब पिट्थे। जसोतसो सहेरै बसेकी थिइन्। एकदिन अचानक पतिको मृत्यु भयो। कारण देखियो हृदयघात। अनि १७ वर्षमै सरस्वती बिधुवा भइन्।
अनि छोराहरू अनागरिक भए…
उद्धार भएर नेपाल फर्किएपछि सरस्वतीले माइतीबाट नेपाली नागरिकता बनाइन्। कानुनी रूपमा सरस्वती चौधरीबाट सरस्वती अधिकारी भइन्। तर विवाहित भन्दा नागरिकता बनाउन झन्झट हुने पक्का थियो, त्यसैले माइतीले नागरिकतामा ‘अविवाहित’ लेखाए।
एकातिर साथमा तीन सन्तान अर्कोतिर नागरिकतामा अविवाहित। यसले उनको सन्तानको भविष्य पेचिलो बनाइदियो।
सरस्वतीले आफ्नो कुरा वडादेखि जिल्ला प्रशासन कार्यालय मकवानपुरमा समेत राखिसकेकी छिन्। तर भारतको सर्कसमा जन्मिएको, पिता नभएको अनि आमाको नागरिकतामा समेत अविवाहित लेखिएको भन्दै उनका छोराहरू अनागरिक जीवन बिताइरहेका छन्।
“छोराहरू हुर्किसके। उनीहरूलाई कानुनी परिचय दिन सकिरहेकी छैन। यो त पछिसम्म गाह्रो हुने भयो। मलाई साह्रै तनाव भइरहेको छ”, उनले भनिन्।
सानै उमेरमा बेचिएर भारतका विभिन्न शहरका सर्कसमा बालश्रमिक बनाइएका थुप्रै ‘सरस्वती’हरू छन् जो उद्धार भइसकेपछि पनि समाजमा समायोजित हुन सकिरहेका छैनन्। उनीहरूका सन्तानले भोग्ने अनागरिक स्थितिको समाधान पनि प्रशासनले दिन सकिरहेको छैन।
सरस्वती पनि समाजमा पुनःस्थापित हुन नसकेकी पात्र हुन्। समाजले कुरा काटिरहने र पुनःस्थापनाको अवसर नदिएकाले नै हेटौँडामा माइतीको छानो छोडर हरिसिद्धिमा डेरा लिएर बस्न थालेकी हुन् उनी।
धन्न उद्धार गर्ने संस्थाले नै उनका तीन छोरालाई पढाइदिएकाले उनलाई ठूलो राहत भयो। उनलाई विभिन्न सीप पनि सिकाएर काममा लगायो।
जीवनयापनको आधार संस्थाले दिए पनि सरस्वतीलाई आफूजस्तै बेचिएका महिलाहरू पुनःस्थापित भएको हेर्नु थियो। त्यसैले उनले सोचिन् बेचिएर जुन सीप सिकियो, जे कर्म गरियो त्यसैलाई सदुपयोग किन नगर्ने?
अनि बेचविखनमा परेर उक्त संस्थाले उद्धार गरेका १३ बालबालिकालाई साथमा लिइन्। सरस्वतीको सोचलाई सहयोग गर्न बेलायतको संस्था पनि तयार भयो। अनि नेपालमै पहिलो पटक आधिकारिक रूपमा सुरु भयो ‘काठमाडौं सर्कश’। सरस्वती यसको बोर्ड सदस्य भइन्।
तर कोभिड-१९ महामारीपछि भने उनको सर्कस बन्द जस्तै भयो। काम गर्ने अधिकांश विदेशिए। उनले चाहेर पनि काठमाडौं सर्कस ब्युँत्याउन सकेकी छैनन्।
अहिले उनी विभिन्न संस्थाका बालबालिकालाई ‘एरियल आर्ट’ सिकाउँछिन्। पाँच वर्षदेखि ठमेलको एलओडी क्लबमा हप्ताको एक दिन उही भारतमा सिकेको आफ्नो खेला देखाउँछिन्।
जेठ ५, २०८२ सोमबार १७:१४:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।