ओलीको गुनासो- बहुमत ल्याउन प्रणालीले छेक्यो

ओलीको गुनासो- बहुमत ल्याउन प्रणालीले छेक्यो

काठमाडौं : प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले हालको निर्वाचन प्रणाली कुनै पनि दललाई बहुमत ल्याउनै नदिने किसिमको भएको टिप्पणी गरेका छन्।

सोमबार नेपाल उत्पीडित जातीय मुक्ति समाजको सातौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै ओलीले समानुपातिकसहितको वर्तमान प्रणालीले एकल बहुमत ल्याउन कठिन बनाएको बताए। तर एमालेले चुनौती स्वीकार गर्दै ‘मिसन ०८४’ अन्तर्गत एकल बहुमत ल्याउने तयारी गरिरहेको उनको दाबी छ।

उनले भने, ‘हामीले मिसन ०८४ को उद्देश्य लिएका छौं। एकल बहुमत ल्याउने लक्ष्य लिएको छौं। यो विलकुल सम्भव लक्ष्य हो। हामीसँग यस्तो प्रणाली छ, जसले कसैलाई पनि सजिलै बहुमत ल्याउन दिँदैन। तर, त्यो चुनौती एमालेका लागि पार गर्न सकिने छ।’

ओलीले पार्टी व्यक्तिगत वा गुटगत स्वार्थभन्दा माथि उठेर देशको स्थायित्व, सुशासन, समृद्धि र राष्ट्रिय स्वाधीनताका लागि काम गरिरहेको दाबी गरे।

विपक्षी दलहरूले जनतामा भ्रम फैलाउन खोजिरहेको भन्दै उनले त्यसको प्रतिकारका लागि जनस्तरमै एकता आवश्यक रहेको बताए। ‘सोसल मिडियामार्फत हाम्रा विरोधीहरू निराधार प्रचारमा लागेका छन्,’ उनले भने, ‘उनीहरू देशको भलो होइन, विघटन चाहने तत्व हुन्।’

एमाले कुनै आकस्मिक वा हल्लाको भरमा बनेको शक्ति नभएको भन्दै ओलीले पार्टीलाई दीर्घकालीन राजनीतिक आन्दोलनको रूपमा हेर्न आग्रह गरे।

जेठ ५, २०८२ सोमबार १७:१२:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।