राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेलसहित चारजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेलसहित चारजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौं : राष्ट्रिय सूचना प्रविधि केन्द्रमा भएको करोडौं रुपैयाँको अनियमिततासम्बन्धी काण्डमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

अख्तियारले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल, तत्कालीन सहायक निर्देशक यमेश पोखरेल, तत्कालीन लेखा अधिकृत धर्मबहादुर थिरी र म्याक्स इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत अकिल हुसैनविरुद्ध मुद्दा दायर गरेको छ। 

आयोगका अनुसार सन् २०१९ मा आरआईएससी र एचसीआई सर्भर खरिद गर्दा प्राविधिक विवरण, लागत अनुमान, र सम्झौताको शर्तहरू उल्लंघन गरिएको छ। सम्झौताअनुसार प्रदान गर्नुपर्ने तालिम, इन्स्टलेसन, र वारेन्टी सेवा बिना नै भुक्तानी गरिएको तथा खरिद मूल्य वास्तविकभन्दा अत्यधिक देखिएको पाइएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा उनीहरूविरुद्ध ५ करोड ७९ लाख रूपैयाँ बिगो कायम गरेर मुद्दा दायर गरेको हो ।

अख्तियारको अनुसन्धानमा सो प्रकरणमा सिंगापुरस्थित यूओबी बैंकमा अमेरिकी डलर ७९,६४० (करिब १ करोड रुपैयाँ) गैरकानुनी रूपमा जम्मा गरिएको प्रमाण पनि फेला परेको छ।

भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत चारैजनाविरुद्ध कैद, जरिवाना र सार्वजनिक पदमा बहाल हुन नपाउने सजाय माग गर्दै मुद्दा दायर गरिएको छ।

जेठ ५, २०८२ सोमबार १६:२९:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।