हिंसात्मक घटनालाई धर्मको आवरणमा उन्मुक्ति दिन मिल्दैन : गृहमन्त्री लेखक

हिंसात्मक घटनालाई धर्मको आवरणमा उन्मुक्ति दिन मिल्दैन : गृहमन्त्री लेखक

काठमाडौं : गृहमन्त्री रमेश लेखकले आफ्नो राजनीतिक अभीष्ट पुरा गर्न कुनैपनि धर्मलाई प्रयोग गर्न नहुने बताएका छन्। 

प्रतिनिधि सभामा उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले हिंसात्मक घटनालाई धर्मका आवरणमा उन्मुक्ति दिन नमिल्ने बताए। 

गृहमन्त्री लेखकले भने, ‘हिन्दु धर्मले अहिंसा, शान्ति र वन्धुत्वमा विश्वास गर्छ त्यो दर्शन र आदर्श तीनकुनेमा देखिएन । त्यसैले, हिंसालाई धर्मसँग जोड्न सकिँदैन । तीनकुनेमा गरिएको राजतन्त्रको वकलातको विषय नेपालको संविधान विपरीत छ जसलाई कुनैपनि विषयमा उचित मान्न सकिँदैन ।’

उनले उक्त घटनामा संलग्नहरूलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान र अभियोजनको कार्य भइरहेको जानकारी दिए। ‘जो सुकै भए पनि अपराधिक कार्यमा संलग्नलाई कानूनी दायरामा ल्याइने समेत प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।’ उनले भने । 

मन्त्री लेखकले उक्त घटनामा एभिन्यूज टेलिभिजनका फोटो पत्रकार सुरेश रजकको प्रदर्शनकारीले एक निजी घरमा लगाएको आगोमा जलेर निधन भएको र अर्का व्यक्ति सविन महर्जनको हिंसात्मक प्रदर्शन नियन्त्रण गर्ने क्रममा गोली लागेर निधन भएको बताए।  

साथै, उक्त तोडफोड र आगजनीमा संलग्नहरुलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान र अभियोजनको कार्य भइरहेको मन्त्री लेखकले जानकारी दिए। 

जेठ ५, २०८२ सोमबार १५:३१:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।