पहिलो पटक टी२० विश्वकप ग्लोबल छनोटमा पुग्दाको खुसी (तस्बिरहरू)

काठमाडौं : युएईलाई पाँच विकेटले पराजित गर्दै नेपाल पहिलो पटक आईसीसी महिला टी२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा पुग्यो।
सोमबार विहान भएको सुपर थ्री खेलमा युएईले दिएको ११५ रनको लक्ष्य नेपाली टोलीले १९.३ ओभरमा पाँच विकेट गुमाएर भेट्टायो।
नेपालको जितमा कप्तान इन्दु बर्माले २८ बलमा ३० रनको नटआउट पारी खेलिन्। रुबिना क्षेत्री २३, सम्झना खड्का २१ र पूजा महतो १३ रनमा आउट भए।
त्यसअघि थाइल्यान्डको टेर्डथाइ क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ११४ रन बनायो।
युएईका लागि कप्तान इशा ओजाले सर्वाधिक ३९ रनको योगदान दिइन्। तीर्थ सतिश २१, हिना होटचन्दनी २० र लाभन्या केनी १२ रनमा समेटिए।
बलिङतर्फ नेपालका लागि मनिषा उपाध्यायले चार विकेट लिँदा कविता कुँवरले दुई तथा राजमती ऐरीले एक विकेट लिए।
अब नेपालले आफ्नो अन्तिम खेलमा भोलि थाइल्यान्डसँग भिड्नेछ। नौ टोली सहभागी एसिया छनोटको सुपर थ्री अन्तर्गतको पहिलो खेलमा युएईलाई हराउँदै थाइल्यान्ड ग्लोबल छनोटमा छनोट भइसकेको थियो।
पहिलो पटक ग्लोबल छनोटमा छनोट भएसँगै नेपाली खेलाडीहरू भावुक भएका थिए। कप्तान बर्माले नेपालका लागि विनिङ रन जोडेकी थिइन्। जितपछि खेलाडी र सपोर्ट स्टाफले कप्तान बर्मासँगै पूर्वकप्तान रुबिना क्षेत्री र बलर मनिषा उपाध्यायलाई उचालेका थिए।
तस्बिरमा हेरौं पहिलो पटक विश्वकपको ग्लोबल छनोटमा पुग्दाको खुसी:-
जेठ ५, २०८२ सोमबार १४:२९:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।