मनसुनजन्य विपद् प्रतिकार्यका लागि तयार रहन सशस्त्र प्रहरीलाई एआईजी पौडेलको निर्देशन

मनसुनजन्य विपद् प्रतिकार्यका लागि तयार रहन सशस्त्र प्रहरीलाई एआईजी पौडेलको निर्देशन

काठमाडौं : सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) नारायणदत्त पौडेलले मनसुनजन्य विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन मातहतका सबै युनिटका कमाण्डरहरूलाई निर्देशन दिएका छन्।

आइतबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय, हल्चोकबाट भर्चुअल माध्यमद्वारा आयोजित बैठकमा एआईजी पौडेलले अघिल्ला वर्षहरूमा भएका विपद्का घटनाहरूको विश्लेषण गर्दै आगामी दिनमा हुनसक्ने मनसुनजन्य विपद्बाट हुने क्षति न्यूनीकरण र प्रभावकारी उद्धारका लागि सम्पूर्ण युनिटलाई तयारी रहन निर्देशन दिएका हुन्।

उनले विपद् व्यवस्थापनका लागि आवश्यक सामग्रीहरू तयारी अवस्थामा राख्न, विपद् सम्बन्धी अनुशिक्षण तथा अभ्यास सञ्चालन गर्न निर्देशन दिएका छन्। साथै, विपद् भएको स्थानमा छिटोभन्दा छिटो पुग्नसक्ने गरी जनशक्तिलाई तयारी अवस्थामा राख्न, स्थानीय स्तरमा विपद् सूचक पहिचान गरी समुदाय लक्षित स्वयंसेवक तालिम सञ्चालन गर्न तथा सम्भव भएसम्म छिटो घटनास्थल पुगेर उद्धार कार्य सुरू गर्न पनि उनले निर्देशन दिए।

प्रधान कार्यालयले यस सम्बन्धमा मातहतका युनिटहरूलाई परिपत्रसमेत गरिसकेको जनाएको छ।

भर्चुअल बैठकमा सबै प्रदेशका बाहिनीपतिहरूले आ–आफ्नो क्षेत्रको विपद् उद्धार तयारीबारे जानकारी गराएका थिए। बैठकमा सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ तथा कनिष्ठ अधिकृतहरूका साथै अन्य दर्जाका सुरक्षाकर्मीहरूको पनि उपस्थिति रहेको थियो।

जेठ ५, २०८२ सोमबार १४:०६:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।