गौशालाबाट गिद्ध संरक्षण गर्दै चौकुने गाउँपालिका

सुर्खेत : चौकुने गाउँपालिकाले गौशाला निर्माण गरी गिद्ध संरक्षण थालेको छ। गाउँपालिकाको वडा नम्बर ३, मौरीवनस्थित चौकुने गौशाला स्थापना भएपछि विगत दुई वर्षमा सो क्षेत्रमा १२४ भन्दा बढी गिद्ध देखा परेको गाउँपालिका अध्यक्ष खड्कबहादुर विकले बताएका छन्।
अध्यक्ष विकका अनुसार, गौशालामा हाल एक सयभन्दा बढी गाईवस्तु राखिएका छन्। महिनामा करिब एक दुई वटा बुढा गाई वा गोरु मर्दा तिनै मृत पशु गिद्धको आहाराको स्रोत बनेका छन्।
‘पहिले गिद्धको नामोनिशान नदेखिने यस ठाउँमा अहिले १२४ भन्दा बढी गिद्ध आउने गरेका छन्,’ उनले भने, ‘गौशाला उनीहरूको आहाराको मुख्य स्रोत र नजिकै कर्णाली नदी तथा उपयुक्त पहरा भएकाले यो स्थान गिद्धका लागि बासस्थानसमेत बनेको छ।’
गाउँघरमा छाडा छोडिने गाईवस्तु व्यवस्थापन गर्न र गाईवस्तु तथा मानवबीचको द्वन्द्व कम गर्न गौशाला स्थापना गरिएको हो। गाईले दूध दिन छोडेपछि वा गोरुले जोत्न नसक्ने भएपछि समुदायबाट छाडा छोड्ने प्रचलन रहेको अध्यक्ष विकले बताए। गौशालामा यस्ता छाडा पशुलाई व्यवस्थापन गरिन्छ भने दूध दिने गाई र जोत्ने गोरुलाई समुदायमा बिक्री वितरणसमेत गरिन्छ।
‘गौशाला निर्माणको मुख्य उद्देश्य गाईवस्तु व्यवस्थापन र मानव-पशु द्वन्द्व न्यूनीकरण थियो,’ उनले थपे, ‘तर यसले अप्रत्याशित रूपमा गिद्ध संरक्षणमा पनि ठूलो सहयोग पुगेको छ।’
गाईवस्तुप्रति नागरिकको सकारात्मक सोच विकास होस् भनेर पालिकाले गोठाला भत्तासमेत प्रदान गर्ने गरेको छ।
गौशाला सञ्चालनका लागि पालिकाले दुई जना कर्मचारी नियुक्त गरेको छ। यहाँ उन्नत जातका गोरु राखिएका छन्। समुदायबाट गाई ल्याएर प्रजनन् गराएबापत एक हजार रुपैयाँ शुल्क लिइन्छ भने दूध दिन छोडेका गाईलाई पाँच सय रुपैयाँ तिरेर गौशालामा छाड्न सकिने व्यवस्था छ। गाउँपालिकाले गौशाला व्यवस्थापनका लागि कार्यविधि बनाएर काम गरिरहेको छ।
पशु मरेपछि खोलामा फाल्ने वा विषादी हाल्नेजस्ता अस्वस्थकर प्रवृत्तिले विगतमा वातावरणीय प्रदूषण बढ्नुका साथै गिद्धको अस्तित्व संकटमा परेको थियो। तर, गौशालामा मरेका गाईवस्तुलाई बस्तीभन्दा टाढा सुरक्षित तरिकाले गिद्धको आहाराका लागि व्यवस्था गरिएपछि गिद्धको आगमन र बसोबास दुवै बढ्न थालेको छ।
अध्यक्ष विकका अनुसार, पालिकाले जलचर तथा थलचर प्राणीको संरक्षणका लागि वन तथा वातावरण ऐन लागू गरेको छ र जैविक विविधता संरक्षणका लागि समुदाय स्तरमा १२ वटा समूह गठन गरेको छ।
‘अब ती गिद्धहरूको संरक्षणका लागि थप योजना बनाउँदैछौँ’, उनले अगाडि भने।
गिद्धलाई प्रकृतिको ‘सफाइकर्मी’ जीव मानिन्छ। यसले मृत जनावरको मासु खाएर वातावरण सफा राख्न मद्दत गर्छ।
विश्वमा पाइने २३ प्रजातिका गिद्धमध्ये नेपालमा ९ प्रजाति पाइन्छन्।तीमध्ये सेतो गिद्ध, लामपुच्छ्रे गिद्ध र सानो गिद्धलगायतका प्रजाति अति संकटापन्न अवस्थामा छन्। नेपालमा गिद्ध संरक्षणका लागि सरकारी तथा गैरसरकारी स्तरबाट विभिन्न गिद्ध खाद्य बैंकसमेत स्थापना भएका छन्।
जेठ ५, २०८२ सोमबार १३:०९:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।