काठमाडौं महानगरको वडा २२ र २५ मा भूमिगत पानी पुनर्भरण प्रणाली हस्तान्तरण

काठमाडौं महानगरको वडा २२ र २५ मा भूमिगत पानी पुनर्भरण प्रणाली हस्तान्तरण

काठमाडौं : भूमिगत पानीको गिर्दै गएको स्तरलाई सम्बोधन गर्न काठमाडौं महानगरपालिका वडा नम्बर २२ र २५ मा पुनर्भरण प्रणाली स्थापना गरिएको छ।

बोटलर्स नेपाल लिमिटेड र सेन्टर फर इन्टिग्रेटेड अर्बन डेभलपमेन्ट (सीआइयुडी) को सहकार्यमा यो परियोजना कार्यान्वयन भएको हो।

परियोजनाअन्तर्गत वडा २५ मा ६ र वडा २२ मा ५ गरी जम्मा ११ पुनर्भरण प्रणालीहरू स्थापना गरिएको छ, जसमा प्रत्येकमा २० फिट गहिराइको कुवा र फिल्टर चेम्बर छन्। यी प्रणालीहरूले वार्षिक रूपमा झण्डै ८,६२४ किलो लिटर पानी पुनर्भरण गर्ने अनुमान गरिएको छ।

उपप्रमुख सुनिता डंगोल, वडाध्यक्षहरू, स्थानीय समूह र संस्थाहरूको उपस्थितिमा प्रणालीहरू हस्तान्तरण गरिएको थियो। डंगोलले परियोजनाको सफल कार्यान्वयनप्रति खुसी व्यक्त गर्दै काठमाडौँका अन्य वडामा पनि यस्ता प्रणाली विस्तार गर्ने प्रतिबद्धता जनाइन्।

परियोजनामा संकटा क्लब, आर्यावलोकितेश्वर, केल अचाजु गुठी लगायतका समुदायिक समूहहरूको समेत सक्रिय भूमिका रहेको थियो। यो पहल अघिल्ला परियोजनाको निरन्तरता हो, जसअन्तर्गत वार्षिक १ लाख ५६ हजार किलो लिटर पानी पुनर्भरण हुँदै आएको छ।

जेठ ५, २०८२ सोमबार १२:२६:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।