नेपाल पहिलो पटक टी२० महिला विश्वकपको ग्लोबल क्वालिफायर्समा छनोट

नेपाल पहिलो पटक टी२० महिला विश्वकपको ग्लोबल क्वालिफायर्समा छनोट

काठमाडौं : आईसीसी महिला टी२० विश्वकप क्रिकेटको एसिया छनोटको सुपर थ्री खेलमा युएईलाई पराजित गर्दै नेपाल पहिलो पटक ग्लोबल क्वालिफायर्समा प्रवेश गरेको छ।

युएईले दिएको ११५ रनको लक्ष्य नेपाली टोलीले १९.३ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेर विश्वकपको ग्लोबल क्वालिफायर्समा स्थान पक्का गरेको हो।

नौ टोली सहभागी एसिया छनोटबाट दुई टोली मात्र ग्लोबल क्वालिफायर्समा जानसक्छ। नेपाल दोस्रो टोली भएको हो। थाइल्यान्ड यसअघि नै ग्लोबल क्वालिफायर्समा छनोट भइसकेको थियो।

नेपालका लागि कप्तान इन्दु बर्मा ३० रनको सर्वाधिक रनको नटआउट पारी खेलिन्। त्यसका अलावा रुबिना क्षेत्री २३, सम्झना खड्का २१ र पूजा महतो १३ रनमा आउट हुँदा राजमती ऐरीले ८ रन जोडिन्।

कविता कुँवर व्यक्तिगत ५ रनमा आउट हुँदा विकेटकिपर रुबि पोद्दारले ६ रनको नटआउट पारी खेलिन्।

त्यसअघि थाइल्यान्डको टेर्डथाइ क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ११४ रन बनायो।

युएईका लागि कप्तान इशा ओजाले सर्वाधिक ३९ रनको योगदान दिइन्। यस्तै, तीर्थ सतिशले २१, हिना होटचन्दनीले २० र लाभन्या केनीले १२ रन बनाइन्।

बलिङतर्फ नेपालका लागि मनिषा उपाध्यायले चार विकेट लिइन्। कविता कुँवरले दुई तथा राजमती ऐरीले एक विकेट लिइन्।

जेठ ५, २०८२ सोमबार १२:१०:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।