बुटवलमा हाईमास्ट बत्तीको पोल-पोलमा खेलराज

बुटवल : बुटवल उपमहानगरपालिकाले ‘उज्यालो बुटवल’ अभियान अन्तर्गत विभिन्न चोक तथा सडकमा हाईमास्ट बत्ती जडान गरिरहेका बेला प्रत्येक पोलमा नगरप्रमुख खेलराज पाण्डेयको नाम र उद्घाटन मिति सहितको ताम्रापत्र राखेको भन्दै आलोचना भएको छ।
सुरक्षित र उज्यालो बुटवल बनाउने उद्देश्यले बत्ती जडान गरिए पनि नगरप्रमुख पाण्डेले यसलाई व्यक्तिगत प्रचारको माध्यम बनाएको भन्दै आलोचना भएको हो।
पहिलो चरणमा जडान भएका बत्तीहरूको २०८१ साउन १५ गते उद्घाटन गरिएको थियो भने अहिले सञ्चालनमा आएका प्रत्येक पोलमा ‘नगरप्रमुख खेलराज पाण्डेको करकमलबाट उद्घाटन’ भन्दै ताम्रापत्र राखिएको छ। सामान्यतया आयोजना उद्घाटन गर्दा एक ठाउँमा मात्र ताम्रपत्र राखिने गरिन्छ। तर, नगरप्रमुख पाण्डेयको प्रचार मोहले पोल-पोलमा ताम्रापत्र राखेको विषयले अहिले उनैलाई ‘ब्याकफायर’ भएको छ।
एमाले बुटवल नगर कमिटीका अध्यक्ष शोभाखर पोखरेलले जनताको करबाट भएका कामलाई नगरप्रमुखले आफ्नै पैसाले गरेको झैँ देखाउन खोजेको टिप्पणी गरेका छन्।
‘यो अनौठो त छ नै, कहिँ नभएको जात्रा बुटवलमा भएको छ’, उनी भन्छन्।
‘उज्यालो बुटवल’ अभियानअन्तर्गत बुटवलका योगिकुटी, कालिकाचोक, होराइजन चोक, तीनकुने, मिलनचोक, अस्पताललाइन, देवीनगर, बसपार्क लगायतका स्थानमा हाईमास्ट बत्ती जडान सम्पन्न भइसकेको छ। हाल शिवालय चोक, इँटाभट्टी लगायतका स्थानमा काम भइरहेको छ।
पहिलो चरणमा बुटवलका २३ वटा विभिन्न चोक तथा चौराहामा १० मिटर, १२.५ मिटर र १६ मिटर अग्ला बत्ती जडान गरिएको थियो। नेपाल पावर सोलुसन प्रालि हेटौंडासँग २०८० माघ १२ गते दुई करोड ७ लाख ९३ हजार ७ सय ३५ रुपैयाँमा ठेक्का सम्झौता भई गत फागुन २ गते शिलान्यास गरिएको थियो।
त्यस्तै, बुटवल उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा थप २६ वटा हाइमास्ट बत्ती जडानको काम गरिरहेको बुटवल उपमहानगरपालिकाका इन्जिनियर सुमन श्रेष्ठले जानकारी दिए।
उपमहानगरपालिकाको एक करोड ३० लाख रुपैयाँ र संघीय सरकारको समपूरक अनुदानसहित तीन करोड ८१ लाख रुपैयाँको लागतमा २६ वटा हाइमास्ट बत्ती जडान गर्न थालिएको हो। दोस्रो चरणको कामको २०८१ माघ २३ गते ट्राफिक चोकमा नगरप्रमुख पाण्डे र उपप्रमुख सावित्रादेवी अर्यालले शिलान्यास गरेका थिए।
दोस्रो चरणमा योगिकुटी चोकदेखि चौराहासम्म चार वटा सहित मिलनचोक, पश्चिमाञ्चल फाइनान्स अघि, अस्पताल अघि, दुर्गा मन्दिर अघि, ट्राफिक चोक, सब्जिमण्डी अघि, नबिल बैंक अघि, बुटवल क्याम्पस अघि, र मैनाबगर एक-एक वटा जडान गरिँदैछ।
यस्तै, तल्लो सिद्धबाबा, बीपी चोक, मोतीपुर, मुख्य बजार क्षेत्र कालिकापथ मन्दिर अघि, इँटाभट्टी, शिवालय मन्दिर अघि, अमरपथ, ट्राफिक चोक, राममन्दिर चोक, नबिल बैंक अघि, नलकुप अघि गरी कुल २६ स्थानमा बत्ती जडान भइरहेका छन्। यीमध्ये केही बल्न थालिसकेका छन् भने केही निर्माणधीन अवस्थामा छन्।
यद्यपि, यसरी बत्ती जडान गर्दा केही साँघुरा र घुम्ती भएका स्थानमा पनि बत्ती राखिएकाले दुर्घटना निम्त्याउन सक्ने भन्दै उपभोक्ता हित संरक्षण मञ्चले चिन्ता व्यक्त गरेको छ। मञ्चका अध्यक्ष समुन्द्र जिसीले साँघुरो बाटोमा जडान गरिएका बत्तीले दुर्घटना नघटाउने बरु बढाउने सम्भावना रहेको बताए।
अनावश्यक बत्ती जडानले मासिँदैछ चराचुरुङ्गीको बासस्थान?
बुटवलको ६ लेन सडकमा पहिलेदेखि नै सडक बत्ती जडान भएकोमा ती बत्तीहरूकै बीचमा उपमहानगरपालिकाले हाईमास्ट बत्ती जडान गरिरहेको छ।
‘सुरक्षित र उज्यालो बुटवल’ नाम दिएर धमाधम बत्ती जडान गरिए पनि रातलाई अँध्यारो नै हुन नदिने गरी जडान गरिएका यी बत्तीले चराचुरुङ्गी र साना जीवहरूको बासस्थान तथा जीवनचक्रमा नकारात्मक असर पर्न सक्ने भन्दै वातावरणविद्हरूले चिन्ता व्यक्त गरेका छन्।
चराविद् कृष्ण भुसाल मानव निर्मित रातको उज्यालोले चराहरूको जीवन चक्रमा परिर्वतन हुने गरेको बताउँछन्।
‘हामीले त्यति ख्याल गर्दैनौँ। रातीमा धेरै जसो चराहरू बसाइ सर्छन्। त्यस्ता चराहरूलाई रातीको उज्यालोले गन्तव्यमा जान कठिनाइ हुन्छ’, उनी भन्छन्।
उज्यालो प्रकाशले रातीमा आराम गर्ने चराहरू सुत्न पाउँदैनन्। उज्यालो भएकै कारण बास बसेका चराहरूमा पनि आक्रमणमा पर्ने डर उत्तिकै हुन्छ। त्यति मात्र होइन, उनीहरूको प्रजननमा पनि उज्यालो प्रकाशले असर गर्ने उनले बताए।
बढी उज्यालो हुँदा सिकारी जीवहरूले चरालाई देख्ने र आक्रमण गर्ने भएकाले अनावश्यक प्रकाश प्रदूषण नगर्न चराविद् भुसालको सुझाव छ।
जेठ ५, २०८२ सोमबार ११:१८:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।