राजावादीको आन्दोलनमा प्रहरीको गोली लागेकी रेविकाको मनमोहन भास्कुलर सेन्टरमा शल्यक्रिया, अहिले आईसीयूमा

राजावादीको आन्दोलनमा प्रहरीको गोली लागेकी रेविकाको मनमोहन भास्कुलर सेन्टरमा शल्यक्रिया, अहिले आईसीयूमा

काठमाडौं : चैत १५ गतेको राजावादीहरूको आन्दोलनमा प्रहरीले चलाएको गोली लागेर घाइते भएकी रेविका क्षेत्रीको शल्यक्रिया गरिएको छ।

अत्यधिक रक्तस्राव भएपछि राति नै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुर्याइएकी उनको आइतबार शल्यक्रिया गरिएको मनमोहन काडियोथेसासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले जनाएको छ।

अस्पताल स्रोतले भन्यो, ‘रक्तस्राव भएपछि भास्कुलरका डा. उत्तमकृष्ण श्रेष्ठको टिमले शल्यक्रिया गरिएको छ। अहिले आईसीयूमा राखिएको छ। रक्तस्राव रोकिएको छ। बिरामी अहिले ठिकै हुनुहुन्छ।’

रेविकाको मांशपेशीको उपचारका लागि प्लास्टिक सर्जन आवश्यक पर्ने र निजामती कर्मचारी अस्पतालमा प्लास्टिक सर्जन नभएकाले त्रिवि शिक्षण अस्पताल रेफर गरिएको निजामती कर्मचारी अस्पतालका निर्देशक डा. मोहनचन्द्र रेग्मीले जानकारी दिए।

उनले उकेरासँग भने, ‘मांशपेशी रिपेयरका लागि प्लास्टिक सर्जरी गरिरहनुपर्ने भयो। अहिलेसम्म हामीले प्लास्टिक सर्जन बोलाएर गरिरहेका थियौँ। हरेक पटक बोलाउँदा व्यवस्थापकीय चुनौती भएकाले टिचिङसँगको सल्लाहमा पठाइएको हो। त्यस्तो सिरियस भएर होइन।’

गोली लागेर रेविकाको मांशपेशीहरु क्षतविक्षत भएकाले पटक-पटक सर्जरी गरिराख्नुपर्ने हुन्छ। शिक्षण अस्पतालको निर्देशकसँग कुरा गरेर मात्र रेफर गरिएको डा. रेग्मीको भनाइ छ।

उनको गोडा जोगाउन र घाउहरू निको हुन छ महिनाभन्दा बढी समय लाग्ने उपचार संलग्न चिकित्सकहरूले बताएका छन्।

कामबाट फर्कँदा प्रहरीको गोली लागेकी रेविका
कामबाट फकिँदा कोटेश्वरमा दायाँ खुट्टाको तिघ्रामा गोली लागेर ढलेकी रेविकाको १० घण्टा लामो शल्यक्रिया भएको थियो। नसामा गोलीले असर गरेको देखिएको छ।

उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर-६ (सातधारे) घर भएकी रेविका कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहमा पढ्ने विद्यार्थी हुन्। ग्वार्कोमा बस्ने उनी नरेफाँटमा रहेको एक खाद्यान्न पसलमा लेखा सम्बन्धी काम गर्थिन्।

१५ गते शुक्रबार पनि उनी बेलुका काम गरेर फर्कँदै थिइन्। तर, कोटेश्वरको आकासेपुल नजिकै पुग्दा उनले राजावादीको प्रदर्शन र प्रहरीबीच झडप भइरहेको देखिन्। आन्दोलनसँग सरोकार त थिएन तर डराइन्। उनले कोटेश्वरमा बस्ने २४ वर्षका दाजु (बढाउका छोरा) दिनेश कुमार खत्रीलाई फोन गरेर लिन बोलाइन्। उनले आकाशे पुल तरिन्। अनि दाजु बहिनीको भेट भयो।

र उनीहरू गल्ली हुँदै कोटेश्वरको एसओएस नजिकै रहेको कोठातिर गइरहेका थिए। तर, कोठा पुग्नै लाग्दा गोलीको आवाज सुनियो। रेविका दाहिने खुट्टाको तिघ्रामा गोली लागेर ढलिन्। दाइ दिनेशको देब्रे खुट्टाको तिघ्रामा पनि गोली लाग्यो। 

गोली लागेर ढलेकी रेविकालाई कसैले नजिकैको मेडिकलमा पुर्यायो। तर, मेडिकलमा उपचार हुनसक्ने सम्भावना थिएन। दाजु बहिनीलाई  नै उपचारका लागि निजामती कर्मचारी अस्पताल पुर्याइयो।

जेठ ५, २०८२ सोमबार १०:१८:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।