पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर

काठमाडौं : पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर भएको पत्ता लागेको छ। आइतबार उनको कार्यालयले एक विज्ञप्ति जारी गर्दै क्यान्सर हड्डीसम्म फैलिएको जानकारी दिएको छ।
८२ वर्षीय बाइडेन गत हप्ता पिसाबसँग सम्बन्धित लक्षणहरू देखिएपछि आफ्नो स्वास्थ्य परीक्षण गराउन डाक्टरकहाँ गएका थिए। परीक्षणपछि उनलाई शुक्रबार क्यान्सर भएको पुष्टि भएको हो।
उनको क्यान्सरलाई ‘हाइ ग्रेड’ क्यान्सरका रूपमा वर्गीकृत गरिएको छ। क्यान्सर रिसर्च यूकेका अनुसार, यस प्रकारको क्यान्सर कोषहरू तीव्र गतिमा शरीरमा फैलिन सक्छन्।
बाइडेन र उनको परिवारले हाल यो क्यान्सरको उपचारका विभिन्न विकल्पहरूबारे समीक्षा गरिरहेका छन्। पूर्व राष्ट्रपतिको कार्यालयले उक्त क्यान्सर ‘हर्मोन-संवेदनशील’ प्रकृतिको रहेको र यसलाई व्यवस्थापन गर्न सकिने जनाएको छ।
बाइडेनको क्यान्सरको खबर सार्वजनिक भएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा पतिक्रिया व्यक्त गरेका छन्।
ट्रम्पले लेखेका छन्, ‘जो बाइडेनको हालैको स्वास्थ्यको बारेमा सुनेर मेलानिया र म दुःखी छौं। उनको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ।’
जेठ ५, २०८२ सोमबार ०९:५६:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।