सांसद यमुना देवीको प्रसव पीडा र खुसी : सुत्केरी हुँदा आमा भेट्न नपाउँदा रुँदै खाना खाएँ

उद्योग, पर्यटन तथा वातावरण समिति सदस्य समेत रहेकी बागमती प्रदेश सांसद यमुना देवी श्रेष्ठ अहिले क्षेत्रगत विकास निर्माणसँगै बजेटसम्बन्धी काममा व्यस्त छिन्। महिला शिक्षामा लामो समय काम गरेकी उनको चन्द्रागिरिमा आफ्नै महिला विद्यालय छ। २०४६ सालपछि राजनीतिमा प्रत्यक्ष संलग्न भएर सक्रिय भएकी उनी महिलासँगै वातावरणसम्बन्धी काममा पनि पोख्त छिन्।
२०४६ सालको आन्दोलनमा सहभागी भएकी उनलाई राजनीतिमा टिकिराख्न सहज थिएन। नेपाली कांग्रेसको महासमितिको चार कार्यकालदेखि अनुभव सङ्गालेकी उनले काठमाडौं क्षेत्र नम्बर दशको मोर्चा सम्हाल्छिन्।
सात दलको राजनीतिमा ‘राज्य स्वतन्त्र हुन पर्यो, जनताको मतको कदर गर्न पर्यो’ जस्ता नारा बोकेर विभिन्न मोर्चाको नेतृत्व गरेकी उनी पटकप-टक जेल परिन्। २०६२ सालको आन्दोलनको क्रममा कर्फ्यु तोड्ने क्रममा भने उनको मेरुदण्ड भाँचिएको थियो र उनका श्रीमान् पनि घाइते भएका थिए।
सानैदेखि राजनीतिक परिवेशमा हुर्किएकी उनको प्रदेश सांसदको रूपमा यो पहिलो कार्यकाल हो। यस क्रममा उनले ३७ वटा योजना सम्पन्न गर्न भ्याएको सुनाइन्। उनै सांसद यमुना देवीले उकेराको नियमित स्तम्भ प्रसव पीडा र खुसीमा आफ्नो मातृत्व अनुभव यसरी सुनाइन्:
०००
मेरो श्रीमान सरकारी जागिरे हुनुहुन्थ्यो। उहाँले प्रत्यक्ष राजनीति गर्नुभएन, सधैँ मलाई नै अगाडि राख्नुभयो। यो प्रदेश सांसदको रूपमा मेरो पहिलो कार्यकाल भए पनि मैले सोचे जतिको काम गर्न सकिरहेको छैन। प्रदेश सरकारको अहिले जति पनि विरोध भइरहेको छ, त्यति धेरै विरोध हुनुपर्ने थिएन। म पोखराकी हुँ। मेरो घरमा सबैजना राजनीतिप्रति झुकाव राख्नुहुन्थ्यो।
वीपी कोइराला पोखरा आउँदा बस्ने हाम्रो घर नै हो। पञ्चायतकालमा हाम्रो बुवाहरूले सक्रिय भएरै आन्दोलन गर्नुभएको थियो। हामीलाई पनि सानैदेखि राजनीतिप्रति प्रेरित गर्नुहुन्थ्यो बुवाले। पोखरामा ठूलो चोकमा जुलुस नारा लागेको देखेरै हामी हुर्कियौँ। बहुदलीय र निर्दलीय भनेर बुझेको त्यही बेला नै हो। हाम्रो बुवाले व्यापारको काम पनि गर्नुहुन्थ्यो। घरमा मेरो दाइ अनि म थियौँ।
विवाहपछिको घरमा पनि त्यस्तै राजनीतिक माहोल नै भयो। सासु वडाको राजनीतिमा निकै सक्रिय अनि ससुरा चै सिडिओ हुनुहुन्थ्यो। विवाहपछि म बाग्लुङमा मेरो कर्म भयो। सासु एकदम धेरै सक्रिय हुनुभएका कारण बाहिरको काममा मलाई सहज पनि भयो।
दश कक्षा पढ्दै गर्दा विवाह भएको मेरो। विवाहपछि मात्र एसएलसी दिएको। अनि पाटन क्याम्पसमा मैले उच्च शिक्षा पढेँ। पढ्दै काम गरेँ। सासुले नै प्रोत्साहन गर्नु भएपछि मैले पढ्ने कि नपढ्ने भनेर सोचिराख्न परेन। मेरो त विवाहपछि नै दिनहरू खुलेको भन्दा पनि फरक पर्दैन।
आफूलाई ‘कन्भिन्स’ गर्न सकियो भने धेरै हदसम्म सहज हुने रहेछ। मेरा दुई सन्तान छन्। दुवैलाई बागलुङमै जन्म दिएको हुँ। सासुविना त म चल्न नसक्ने जस्तै अवस्था थियो पहिला। गर्भावस्थामा अस्पताल जानेदेखि आफ्नो ख्याल गर्ने सम्म उहाँले नै गर्दा जानेको हुँ।
त्यसबेला गाउँमा अस्पतालको राम्रो व्यवस्था थिएन। अस्पतालको शय्या निकै सानो हुने हुँदा लडिन्छ भनेर घरमै जन्म दिएको बाबुलाई। सासु र फुपू सासु मिलेर डेलिभरी घरमै गरिदिनुभएको थियो। प्रसव व्यथा त मलाई सात दिनसम्म लागेको थियो।
बाबु र नानीको बीचमा चार वर्षको उमेर अन्तर छ। दुवै सन्तान गर्भमा हुँदा म त कमजोर भएर बेहोस नै हुन्थेँ। आँखा खोल्न नसक्ने। पानी पनि खान नहुने। जे खाए पनि बान्ता भइहाल्थ्यो। छिमेकीको घरमा माछामासु पाकेको गन्धले पनि मलाई सहनै नसक्ने हुन्थ्यो। हल्का फलफूलबाहेक अरू खान नसक्दा सात महिनासम्म त मलाई निकै नै गाह्रो भएको थियो। त्यसबेला अहिले जस्तो फरक-फरक स्वादको खाना पनि त हुँदैनथ्यो। घरमा खानाको कमी थिएन तर खानै नसक्ने हुन्थ्यो।
हाम्रो घरमा घ्यू चैँ खुब हुन्थ्यो। अनि मैले चिनीपरेको घिउ कपाकप खाएको अहिलेसम्म सम्झिन्छु। तर, खाना पर्याप्त नखाएको कारण तौल निकै कम थियो। त्यही भएर पनि हो कि सुन्निने, हातखुट्टाहरू ठूलो हुने केही पनि भएन। नौ महिनाको गर्भवती हुँदा समेत मेरो तौल ४० केजी पनि पुगेको थिएन। गाउँमा युएनडिपीको अस्पतालहरूमा औषधि किन्न पर्दैनथ्यो। त्यही भएर पनि हाम्रो त्यसबेला पाँच रुपैयाँ पनि खर्च भएन। श्रीमान् सरकारी जागिरे भएको कारण उहाँको काम जहाँ-जहाँ हुन्थ्यो, हामी पनि उतै जान्थ्यौँ।
त्यही भएर पनि बेलैमा मैले नेपाल बुझ्न पाएँ। नानी जन्मिने समयमा म उमेर र अनुभवको हिसाबले पनि परिपक्व भैसकेको थिएँ। तर, उसको पालोमा पनि मलाई सात दिन नै गाह्रो भयो। कटक्क पेट दुखिरहने। झन् गाह्रो होला भनेर घरको काममा सक्रिय भइराख्थे। पहिलो पटक आफ्नो सन्तान देख्दा म निकै रमाएकी थिएँ। बाबु त सुन्दर बुद्ध भगवान जस्तै थियो। गोरो, राम्रो। जन्मिने बित्तिकै उसले खानामा निकै झगडा गर्यो।
मलाई त के भयो पनि थाहा थिएन त्यसबेला। पछि सासुले याद गर्नुभएको रहेछ, बच्चाको त तालु नै झरेको छैन रहेछ। समयअनुसार नै जन्मिएको भए पनि जन्मिने बेलामा बाबु अलि कमजोर भएछ। बरु नानी जन्मिँदा निकै स्वस्थ थिई। सुत्केरी हुँदा माइती जान पाइनँ। आमालाई खुब सम्झिएको थिएँ। यता आमा रुने, उता छोरी रुने भएको थियो। घरमा नन्दहरूले नै जाने पनि नजाने पनि सुत्केरी स्याहार्नुभयो। सुत्केरीको समयमा आमालाई सम्झिएर रुँदै खाना खाएको छु।
गर्भावस्थामा मासु नखाएको, बच्चा भएपछि त झन् कमजोरीले गर्दा होला मलाई निकै मासु खान मन लागेको थियो। त्यसबेला गाउँघरमा मासु काटेर बेच्ने चलन नै थिएन। बाबु छ महिनाको भएपछि विभिन्न सीप सिक्न थालेँ। तालिम लिन र दिन थालेँ। केही नयाँ सीप सिकेपछि मैले तुरुन्तै त्यो काम गरिहाल्थेँ। त्यही भएर पनि जति सक्दो नयाँ नयाँ काममा म आफूलाई व्यस्त राख्थेँ। बच्चा काखमै लिएर सबै काम गरेँ। अनि बाबु दुई वर्षको भएपछि त मैले कलेज पनि पढ्न थालेँ।
सीप सिक्दै, काम गर्दै मैले बीबीसीको समाचारहरू सुन्ने गर्थेँ। त्यसपछि देशको राजनीतिमा झन् बढी चासो हुन थाल्यो। अनि २०४७ सालको आन्दोलनमा त म खुलेरै सहभागी भएकी हुँ। २०४६ सालपछिको प्रजातन्त्रपछि नेपाल महिला संघमा पनि जोडिएँ। मंगला आमा (मंगला देवी सिंह) लाई देखेर म निकै प्रभावित भएकी थिएँ। संघमा पनि विभिन्न तालिमहरू हुन्थ्यो नै। सानो घरेलु उद्योग समेत खोलेँ त्यसबेला।
सुरू-सुरूमा बच्चा बोकेर तालिमहरूमा, काममा जान अप्ठ्यारो हुन्थ्यो। बानी भएपछि त सहजै, मैले उनीहरूलाई पनि समय दिन भ्याउँथेँ। दुई जना सँगसँगै हुर्किँदा मलाई सहज पनि भयो। सानोमा उनीहरूले खुब झगडा गर्थे। पछि खाना, पढाइ समेत मिल्दै गयो। छोरी देख्दा म एकदम खुसी भएँ। अझ नातिनी देख्दा झन् बढी खुसी भएँ।
मैले छोरीलाई ‘नातिनी भयो धेरै राम्रो। अब छोरा नजन्माउ है’ भन्ने गर्छु। नातिनीको नाम भृकुटी, नाम जस्तै सुन्दर छे। छोरी त अहिले अमेरिकामा छ। छोरा बुहारी मसँग साथमा छन्। मेरो उद्योग बुहारीले सम्हाल्ने भइसक्यो। सासु हुँदा मलाई जति सहज भएको थियो, उसलाई पनि त्यही सहज होस् भनेर म निकै सहज हुने गर्छु।
त्यसबाहेक बाबुको आफ्नै जागिर छ। छोरा हुर्काउँदै गर्दा ऊ कुलतमा फस्ने हो कि भन्ने डर लागेको थियो। उसलाई सधैँ भनिराख्थेँ, ‘बस्नलाई बास छ, खानलाई गाँस चैँ आफैँ जुगाड गर्नुपर्छ। अनि त्यो जुगाड इमान्दारिताको हुनुपर्छ।’
सायद त्यसैले पनि होला ऊ कुलतमा फसेन। अहिले उसकै पनि परिवार भैसक्यो। मलाई उनीहरूले धेरै माया गर्छन्। राजनीतिमा पनि मलाई सहयोग गरिरहेका हुन्छन्। युवापुस्ताले के चाहिरहेको छ भनेर उनीहरूबाट बुझिरहेको हुन्छु।
मेरो मातृत्वमा म आफूलाई गौरव पनि गर्छु। मेरो कोख राम्रो रहेछ भनेर भगवानलाई सधैं धन्यवाद पनि दिने गर्छु। सबैभन्दा बढी उनीहरूले मेरो भावनाको कदर गर्छन्। म पनि उनीहरूलाई अथाह माया गर्छु। एउटा आमालाई आफ्नो बच्चाजतिको प्यारो अरु के नै हुन्छ होला र!
जेठ ५, २०८२ सोमबार १०:४४:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।