संघीय संसद्का दुवै सदनको बैठक बस्दै

संघीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं : संघीय संसदका दुवै सदनको बैठक सोमबार बस्दैछ। संसद भवन नयाँ बानेश्वरमा प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभा बैठक दिउँसो सवा १ बजेका लागि तय गरिएको छ।

प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन्।

बैठकमा गृह, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, भौतिक पूर्वाधार तथा यातायात र कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले उत्तर दिने कार्यसूची छ।

साथै, ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री दिपक खड्काले पूर्वाधार विकास समितिको प्रतिवेदनसहित जलस्रोत विधेयक, २०८१ माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् र सो विधेयकलाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ।

राष्ट्रिय सभा बैठकमा भौतिक पूर्वाधार तथा यातायात र युवा तथा खेलकुद मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले उत्तर दिने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ।

यसका अलावा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानको धारा ५३ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन, २०८०/८१  र सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले चलचित्र विधेयक २०८१ सभा समक्ष पेस गर्दैछन्।

त्यस्तै, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

जेठ ५, २०८२ सोमबार ०७:३५:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।