आईपीएलमा गुजरातले दिल्लीलाई १० विकेटले हरायो

आईपीएलमा गुजरातले दिल्लीलाई १० विकेटले हरायो

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) मा गुजरात टाइटन्सले दिल्ली क्यापिटल्समाथि १० विकेटको सानदार जित निकाल्दै प्लेअफमा स्थान सुरक्षित गरेको छ।

गुजरातको जितमा ओपनर शुभमन गिल र साइ सुदर्शनबीचको विस्फोटक साझेदारी निर्णायक बन्यो। यो जितसँगै गुजरातसँगै रोयल च्यालेन्जर्स बेंग्लोर (आरसीबी) र पन्जाब किङ्सले पनि एक खेल बाँकी छँदै प्लेअफमा स्थान बनाएका छन्।

दिल्लीले दिएको २ सय रनको लक्ष्य गुजरातले १९ ओभरमै कुनै विकेट नगुमाई पूरा गर्दै एकपक्षीय रुपमा खेल जित्यो।

शुभमन र सुदर्शनले सुरुदेखि अन्त्यसम्म आक्रमक ब्याटिङ गरे। दिल्लीका कुनै पनि बलरले उनीहरूलाई रोकेर राख्न सकेनन्। सुदर्शनले ६१ बलमा १२ चौका र ४ छक्कासहित अविजित १०८ रन बनाए भने शुभमनले ५३ बलमा अविजित ९३ रन जोडे।

त्यसअघि, अरुण जेटली स्टेडियममा टस जितेपछि गुजरातले दिल्लीलाई पहिला ब्याटिङ गराएको थियो। दिल्लीले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १९९ रन बनाएको थियो।

ओपनर फाफ डु प्लेसिस ५ रनमै आउट हुँदा दिल्लीको स्कोर १६ रनमा सीमित थियो। तर अर्का ओपनर केएल राहुल र अभिषेक पोरेलले दोस्रो विकेटका लागि ९० रनको सशक्त साझेदारी गरे। अभिषेक ३० रनमा साइ किशोरको बलमा आउट भए। अक्षर पटेलले २५ रन बनाए। केएल राहुलले भने शतकीय इनिङ्स खेल्दै टीमलाई मजबुत स्कोरमा पुर्याए। ट्रिस्टान स्टब्स २१ रनमा अविजित रहे।

गुजरातका लागि अर्शद खान, प्रसिद्ध कृष्णा र साइ किशोरले समान रूपमा एक–एक विकेट लिए।

यस जितसँगै गुजरात १८ अंकसहित शीर्ष स्थानमा उक्लियो। आरसीबी र पन्जाब दुवै टोली १७ अंकमा रहेर प्लेअफमा पुगेका छन्। आइतबार नै भएको पहिलो खेलमा पन्जाबले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको थियो।

अब बाँकी रहेको एक स्थानका लागि दिल्ली, मुम्बई र लखनउबीच प्रतिस्पर्धा हुनेछ। मुम्बईसँग १४, दिल्लीसँग १३ र लखनउसँग १० अंक छन्। लखनउले हालसम्म १० खेल खेलेको छ।

जेठ ५, २०८२ सोमबार ०७:२९:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।