के घर के डेरा घर नम्बर २ : दीपेन्द्र के खनालको रौनकहीन निर्देशन

जब फिल्ममा दुई वा दुई भन्दा बढी मुख्य कलाकार हुन्छन्, त्यो बेलामा कसलाई केन्द्रीय पात्र बनाउने भन्नेमा निर्देशकमा अलमल हुनसक्छ। समस्यामा परेका घरबेटीसँगै समस्या नै समस्याले जेलिएका पात्रहरूको निर्माण गर्दा केन्द्रित पात्रको छनौटमा निर्देशक दीपेन्द्र के खनाल पनि यसरी नै अलमलिएका छन् फिल्म 'के घर के डेरा घर नम्बर २' मा।
कथा तथा पटकथाकारको सहयोगमा निर्देशक खनालले बबरमहलमा रौनक निवासको परिकल्पना गरेर त्यहाँ बस्ने घरधनीदेखि डेरावालसम्मको रौनक हराएको कथा पस्कने प्रयास त गरेका छन्, तर केन्द्रीय पात्रको चयनमा चुक्दा फिल्मको निर्देशन नै रौनकहीन बन्न पुगेको छ।
मल्टी स्टारकास्ट भएको फिल्ममा पनि केन्द्रीय पात्रको निर्माण गर्न नसकिने होइन। सेन्ट्रल क्यारेक्टरलाई अन्य पात्रहरू भन्दा बढी स्क्रिन टाइम दिएर दर्शकलाई पात्रसँग जोड्ने प्रयास गर्ने, मुख्य पात्रको कथालाई फिल्मको प्रमुख संघर्ष र लक्ष्यसँग जोड्ने अनि अन्य पात्रहरूको कथा मुख्य पात्रको यात्रालाई समर्थन गर्ने गरी प्रस्तुत गर्ने उपाय अपनाउन सकिन्छ।
क्यामेरा एंगल, फोकस, र लाइटिङ मार्फत मुख्य पात्रलाई दृश्यमा महत्त्व दिने, अन्य पात्रहरूको संवादले मुख्य पात्रको महत्त्व र उसको भूमिकालाई जोड दिने, सेन्ट्रल क्यारेक्टरको पृष्ठभूमिलाई विस्तृत रूपमा प्रस्तुत गरेर दर्शकमा सहानुभूति महसुस गराउने अर्को उपाय हो।
फिल्मको महत्त्वपूर्ण क्षणहरूमा मुख्य पात्रलाई निर्णायक भूमिका दिने, मुख्य पात्रसँग विशेष म्युजिकल थिम वा साउन्ड इलेमेन्ट जोड्ने, फिल्मको सुरुमै मुख्य पात्रलाई महत्त्वपूर्ण रूपमा प्रस्तुत गर्ने अनि मुख्य पात्रलाई कथा वाचकको रूपमा प्रयोग गर्न पनि सकिन्छ।
यति धेरै उपायहरू हुँदाहुँदै पनि, बुद्धिसागर जस्ता सफल आख्यानकार लेखक हुँदाहुँदै पनि फिल्मको कथा अनि पात्रका संघर्षहरु बिस्कुन छरिए जसरी छरिँदा सम्भावना भएको एउटा फिल्म प्रभावहीन बन्न पुग्यो। अनावश्यक पात्रको निर्माण र लम्बिने दृश्यहरूले न घरबेटीको मनमा यो फिल्म बस्न सफल भयो न त डेरावालाकै मनमा बस्न सक्यो।
अब लागौँ कथासारतर्फ
काठमाडौंको बबरमहलमा एउटा घर छ रौनक निवास। घरबेटी रौनक थापा (आर्यन सिग्देल)लाई बाबुको बिँडो त्यो घर बैंकको लिलामीबाट जोगाउनुपर्ने समस्या छ। उता ऋचा (केकी अधिकारी) लाई आफ्नै विगतले लखेटिरहेको छ।
त्यही घरमा डेरावाला भएर आएका छन् नाकाबन्दीले व्यापार डुबाएका व्यापारी प्रकाश घिमिरे। घिमिरेकी छोरी पूजा (उपासना सिंह ठकुरी) लाई तनावमा परेका बाबुको हेरचाहको अर्को तनाव छ। व्यापार गर्ने ऋण लिँदा मिटर ब्याजको फन्दामा परेका दिवाकर (निश्चल बस्नेत) रौनक निवासका अर्का डेरावाला हुन्। समय क्रममा राजाराम भण्डारी (खगेन्द्र लामिछाने) त्यहीँ घरको डेरावाला बन्छन्।
नाम रौनक निवास भए पनि त्यहाँ रहेका घरबेटीदेखि डेरावालसम्म सबैको जीवनको रौनक हराएको छ। उनीहरू आ-आफ्नै समस्यासँग जुधिरहेका छन्। उनीहरूमध्ये कतिले आफ्नो समस्यालाई पराजित गर्छन् या समस्यासँग आफैँ पराजित हुन्छन्? फिल्मको मूलकथा यही नै हो।
सबल पक्ष
यो फिल्मको सबैभन्दा उम्दा पक्ष कलाकारहरूको अभिनय नै हो। यसमा रहेका आर्यन सिग्देल हुन् या निश्चल बस्नेत या खगेन्द्र लामिछाने, सबैको अभिनय निकै राम्रो छ। निर्देशकले घरलाई इँटा र सिमेन्टको पर्खाल मात्र नभई त्योसँग जोडिने भावनात्मक सम्बन्धलाई महत्त्व दिएका छन्। घरसँगको ममता केवल घरधनीलाई मात्र होइन, त्यहाँ बस्ने डेरावालालाई पनि उत्तिकै माया हुन्छ भन्ने फरक कोण पनि थपेका छन् निर्देशकले।
स्वार्थमा बनेको सम्बन्ध आपतमा काम लाग्दैन भन्ने देखाउने प्रयास गरेका छन्। दुर्घटनाबाट बिथोलिएको पात्रको जीवनलाई दुर्घटनाबाटै विभिन्न मोडमा लग्ने प्रयास गरेका छन्। फिल्ममा विशेष गरी खगेन्द्र लामिछानेले बोल्ने केही संवादहरू निकै मार्मिक र मिठा छन्। 'म त गौँथली हुँ, घर बनाउन त्यान्द्रो खोजिरहेछु' जस्ता केही संवादले बुद्धिसागरको साहित्यको लाज जोगाउन सफल भएको छ।
देखिँदा सामान्य देखिने घटनाक्रमलाई राजनीतिक नेतृत्वले गम्भीरताका साथ नलिँदा आम नागरिकको जीवन कसरी तहसनहस हुन्छ भन्ने देखाउने प्रयास गरेका छन् निर्देशकले।
कमजोरी
फिल्मको स्क्रिनप्लेको गति नदी जस्तो गतिवान् हुनुपर्नेमा पोखरी जस्तो स्थिर हुनु नै यो फिल्मको सबैभन्दा ठूलो कमजोरी हो। न कथा बग्छ न पात्रहरू नै। निकै सुस्त छ फिल्मको गति।
समाजको कथा भन्ने क्रममा फिल्ममा नाकाबन्दीदेखि कोरोनाको कहरसम्म, दुर्घटनाले जीवनै तहसनहस भएका पात्रदेखि मिटर ब्याजको चक्रमा फसेका पात्रसम्म अनि जायजेथा बेचेर ऋण तिरे पनि आफूले उठाउनुपर्ने पैसा डुबेर रन्थनिएका पात्रसम्मको निर्माण गरेका छन् निर्देशकले एकै घरमा।
समस्यासँग पात्रहरूको थुप्रो लगाएका निर्देशकले सहज रूपमा त्यो थुप्रो पन्छाउन सकेनन्। जति पात्र भए पनि कथावाचक केन्द्रीय पात्र त हुन्छ नै। तर यसमा मूल कथावाचक को हो भन्ने नै खुल्दैन।
फिल्मको आधाआधी रौनक बनेका आर्यन मूलपात्र रहेछन् जस्तो देखिन्छन्। जब राजाराम बनेका खगेन्द्र रौनक निवास पुग्छन्, मुख्य पात्र उनी जस्तै देखिन्छन्। धेरै पात्रहरूको समस्या देखाए पनि केन्द्रीकृत गर्न नसक्दा कुनै पात्रको दुखमा पनि दर्शकको मन चस्स घोच्दैन। कथा यसरी छरिएको छ कि कुन चाहिँ पात्रको दुख हेरेर 'बिचरा' भन्नेमै अलमल हुन्छ।
अनि फिल्ममा केही पात्रहरू आउँछन्, एक्कासि हराउँछन्। ती पात्र किन फिल्ममा आए अनि कता गए दर्शकले पत्तै पाउँदैनन्। छाता बनाउने अनि किराना पसले - त्यस्तै दुई पात्रको निर्माण गरेका छन् निर्देशकले फिल्ममा।
तैबिसेक छाता बनाउने पात्रसम्म ठिकै हो, तर किराना पसले पात्रको निर्माण, प्रस्तुति र फिल्मको पात्र खगेन्द्रसँगको सम्बन्ध जसरी निर्माण गरिएको छ, एकाएक ती पात्र हराउँदा फिल्ममा ती पात्र किन आए अनि किन हराए भन्ने नै बुझिँदैन।
केवल खगेन्द्रलाई रौनक निवाससम्म पुर्याउन ती पात्रको निर्माण र उनलाई दिइएको स्क्रिन टाइम त्यति चाहिन्थ्यो र! दिवाकर बनेका निश्चल पात्रकै आवश्यकता मिटर ब्याजको समस्या देखाउन बाहेक फिल्मको कथाको वेगका लागि किन राखेको हो?
दिवाकरलाई बालकालकारमार्फत सुपरम्यानको ट्याग दिएका छन् निर्देशकले। तर कुनै कोणबाट पनि उनी सुपरम्यान लाग्दैनन्। समस्यामा परेका व्यक्तिलाई मद्दत गर्न अकस्मात् आउने अनि त्यसैगरी हराउने पात्र हो नि सुपरम्यान त। फिल्मको स्क्रिप्ट अनुसार त्यो भूमिकामा खगेन्द्र देखिन्छन्। तर घरमा आएको चोर भगाएको एक घटनालाई बाल कलाकारको मुखबाट भनाएर निश्चललाई सुपरम्यानको ट्याग दिएका छन्।
फिल्ममा जसरी रौनक निवासको वर्णन गरिएको छ त्यो अनुसार घर जर्जर र निकै थोत्रो भइसकेको छ। त्यो घरमा बस्नुको कारण केवल बुबाले अन्तिम अवस्थामा "घर नबेच्नु है" भनेको भावनात्मक कारण बाहेक अन्य कारण देखिँदैन। तर फिल्ममा जस्तो घर देखाइन्छ, त्यो हेर्दा घर त्यति थोत्रो र कामै नलाग्ने खालको देखिँदैन।
फिल्ममा एक पात्रका लागि खलनायकको निर्माण गरिएको छ सन्जोग रसाइलीमार्फत। अभिनयका हिसाबले उनले राम्रो काम गरेका छन्। तर फिल्मको एक पात्रसँग बाहेक उनको कुनै सम्बन्ध छैन। उनलाई अर्कालाई फसाउन जस्तोसुकै तहसम्म पनि जान सक्ने देखाउन रेस्टुरेन्टमा एक पात्रलाई घनले हानेर हत्या गर्ने तहसम्मको दृश्य राखिएको छ। तर त्यसपछि के भयो? त्यो दृश्यको कुनै अर्थ छैन।
खगेन्द्रको चरित्र चित्रण र उनलाई जुन रूपमा फिल्ममा प्रस्तुत गरिएको छ, त्यो केही हदसम्म रहस्यमय जस्तो लागे पनि जब उनको व्यवहारको कारण खुल्छ, उनको चरित्र चित्रणसँग दर्शक विश्वस्त नै हुन सक्दैनन्। त्यो तहको व्यक्ति कहिले गुजाराका लागि छाता बनाउने काम गरेको त कहिले जारको पानी ओसार्ने काम गरेको तहको चरित्र निर्माण आवश्यक थियो र?
जुन रूपमा निर्देशकले अन्त्यमा खगेन्द्रको पृष्ठभूमि खुलाए, त्यो रूपमा उनले बिचमा जे जस्ता कामहरू गरे, त्यसको औचित्य स्थापित हुँदैन। उपासना र खगेन्द्रबीच केही समयका लागि निर्देशकले निर्माण गरेको सम्बन्ध पनि अति नै नाटकीय र अनावश्यक लाग्छ फिल्ममा।
समस्याले घेरिएकी केकीको समस्याको समाधान जसरी हल्का रुपमा गरेका छन् निर्देशकले फिल्म पनि त्यस्तै हल्का बनिदियो। फिल्मको छायाङ्कन ठिकै छ। घरमै केन्द्रित कथालाई पनि दृष्यमा बगाउने प्रयास गरेका छन् छायाँकारले। सम्पादन मध्यम् छ। कलर, लाइटिङमा सामान्य काम भएको देखिन्छ।
फिल्ममा समावेश गीत 'आँखा तिम्रो आँखा' र 'ए है ढुङ्गा देउता भो' कथासँग मिल्दोजुल्दो नै छ। पृष्ठभूमि संगीत अर्को कमजोर पक्ष हो फिल्मको।
नेपाली फिल्मको सबैभन्दा कमजोर पक्ष नै लेखन हो भनेर धेरै निर्देशकले, धेरै मञ्चमा भन्दै आएका छन्। त्यसमा दीपेन्द्र के खनाल अग्रपङ्क्तिमा नै पर्छन्। फिल्म लेखनमा बुद्धिसागरको प्रवेशले त्यो अभाव केही हदसम्म भए पनि भर्ने आशा जगाएको थियो।
तर फिल्म 'के घर के डेरा घर नम्बर २' को अवस्था हेर्दा नेपाली फिल्म क्षेत्रमा सबैभन्दा कमजोर पक्ष लेखन कि निर्देशन भन्ने प्रश्न जन्मायो। शब्दबाटै दृश्यको अनुभव गराउन सक्ने क्षमता भएका उपन्यासकार बुद्धिसागरले यति कमजोर फिल्म बन्ने कथा लेखे होला त?
जेठ ४, २०८२ आइतबार २३:३७:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।