हवाईमार्ग हुँदै हंगकंगबाट आउने तस्करीको सुन केरुङ हुँदै आउन थाल्यो, स्याउको कन्टेनरमा भेटियो सात किलो

हवाईमार्ग हुँदै हंगकंगबाट आउने तस्करीको सुन केरुङ हुँदै आउन थाल्यो, स्याउको कन्टेनरमा भेटियो सात किलो

काठमाडौं : हवाई मार्गबाट हुने गरेको सुन तस्करी स्थलमार्गमा सरेको खुलेको छ। आइतबार प्रहरीले रसुवा भन्सार नाकाबाट स्याउको कन्टेनरमा लुकाएर ल्याएको ७ किलो सुन फेला पारेपछि हवाई मार्गबाट नेपाल भित्रिने तस्करीको सुन स्थलमार्गहुँदै चीनबाट नेपाल भित्रिन थालेको खुलेको हो।

प्रहरी स्रोतका अनुसार स्याउ बोकेको कन्टेनर चीनको केरुङबाट नेपाल आएको हो। सुराकीको आधारमा कन्टेनरमा खोजी गर्दा ७ वटा बिस्कुट आकारका र थप केही  टुक्रा सुन फेला परेको हो। सो सुन चालकको सिटनजिकै लुकाएर राखिएको अवस्थामा फेला परेको हो।

प्रहरीले यस अगाडि नेपालबाट चीन लान खोजेको ठूलो परिमाणको विदेशी मुद्रासहित एक चालकलाई पक्राउ परेको थियो। सो रकम तस्करीको सुनको रहेको प्रहरीले दाबी गरेको थियो। प्रहरीले ट्रकमा लुकाएर रसुवा जान लागेको ट्रकमा २५ करोड नेपाली रुपैयाँ बराबरको विभिन्न देशका विदेशी मुद्रा बरामद गरेको थियो।

प्रारम्भमा कुसाङ लामा पक्राउ परेकोमा पछि सो रकममा सुन तस्करीमा बारम्बार जोडिँदै आएका सिन्धुपाल्चोकको राजकुमार पौडेल जोडिए। तर पौडेल पक्राउ परेन। त्यत्रो परिणाममा विदेशी मुद्रा बरामद भए पनि प्रहरीले अनुसन्धान नगरी राजश्व अनुसन्धान विभागमा बुझायो। राजश्व अनुसन्धान विभागले राजश्व छलीमा अनुसन्धान गर्यो। सुनको रकम दाबी गर्दागर्दै पनि प्रहरीले सो घटनाबारे सङ्गठित अपराधमा अनुसन्धान गर्न सक्ने भए पनि गरेन।

जेठ ४, २०८२ आइतबार १७:३१:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।