टेबल टेनिस खेल्दै प्रधानमन्त्रीले खेलाडीलाई दिए बधाई, हौसला र नगद पुरस्कार

टेबल टेनिस खेल्दै प्रधानमन्त्रीले खेलाडीलाई दिए बधाई, हौसला र नगद पुरस्कार

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले ‘दक्षिण एसियाली युथ टेबल टेनिस प्रतियोगिता’मा पदक जितेका नेपाली खेलाडीलाई आइतबार बधाईसहित नगद पुरस्कार प्रदान गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा उनले युवा खेलाडीहरूलाई उच्च मनोबलका साथ अझ परिश्रम गर्न र विश्वस्तरीय प्रतिस्पर्धामा नेपाललाई गौरवान्वित पार्ने सफलता हासिल गर्न शुभकामना दिए।

गत वैशाख ११ देखि १४ गतेसम्म अखिल नेपाल टेबल टेनिस संघको आयोजनामा काठमाडौंमा सम्पन्न प्रतियोगितामा नेपालले १ स्वर्ण, ६ रजत र ५ कास्यसहित कुल १२ पदक जितेको थियो। यु-१९ ब्वाइज टिम इभेन्टमा प्रवेश बस्नेत, गनञ्जय दहाल, हिमाल विष्ट र रुविन महर्जनको टोलीले स्वर्ण पदक जितेका थिए।

प्रधानमन्त्री ओलीले कार्यक्रममा खेलाडीहरूसँग केहीबेर टेबल टेनिस खेल्दै उनीहरूलाई हौसला दिएका थिए। उनले आफ्नो तर्फबाट उत्कृष्ट र सहभागी सबै खेलाडीलाई नगद पुरस्कारसमेत प्रदान गरेका छन्।

कार्यक्रममा बोल्दै टेबल टेनिस संघका उपाध्यक्ष पूर्णशङ्कर श्रेष्ठले प्रधानमन्त्रीस्तरबाट पहिलोपटक यस्तो सम्मान प्राप्त हुनु टेबल टेनिसका लागि ऐतिहासिक भएको भन्दै भविष्यमा अन्तर्राष्ट्रिय सफलताका सम्भावना थप बलियो बनेको बताए।

जेठ ४, २०८२ आइतबार १४:३३:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।