‘सगरमाथा संवाद’को सन्देशसहित सशस्त्रका छन्त्यालले गरे सगरमाथाको सफल आरोहण

‘सगरमाथा संवाद’को सन्देशसहित सशस्त्रका छन्त्यालले गरे सगरमाथाको सफल आरोहण

काठमाडौं : ‘सगरमाथा संवाद’को सन्देशसहित हिमाल आरोहणमा निक्लिएका सशस्त्र प्रहरी सहायक निरीक्षक दन्तबहादुर छन्त्यालले सगरमाथाको सफल आरोहण गरेका छन्। 
 
उनले आइतबार बिहान ९:२० बजे सगरमाथाको चुचुरोबाट ‘सगरमाथा संवाद’ र सशस्त्र प्रहरी बल नेपालको झण्डा फहराएको सगरमाथा बेसक्याम्पमा रहेका समन्वय अधिकृत सशस्त्र प्रहरी निरीक्षक निर्मल बस्नेतले जानकारी दिए। छन्त्यालसँगै वङ्दी शेर्पाले पनि सोही समयमा सगरमाथाको सफल आरोहण गरेका छन्।
 
जेठ २ गतेदेखि काठमाडौँमा जारी सगरमाथा संवादको सन्देशलाई विश्वमाझ प्रवर्द्धन गर्ने उद्देश्यले सद्भावना दूतको रुपमा छन्त्यालले सगरमाथा आरोहण गरेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले बताए।
 
सहायक निरीक्षक छन्त्यालले गत वैशाख २२ गते छ हजार ११४ मिटर अग्लो लोबुचे हिमालको समेत सफल आरोहण गरेका थिए। उनी ‘सगरमाथा संवाद’ र सशस्त्र प्रहरी बल नेपालको झण्डा लिइ सगरमाथा आरोहण लागि गत वैशाख १५ गते हिडेका थिए।
 
उहाँलाई वैशाख १४ गते प्रधानमन्त्री केपी शर्मा ओली र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सगरमाथा सफल आरोहणको शुभकामनासहित बिदाइ गरेका थिए। सहायक निरीक्षक छन्त्याल सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय उच्च भूभाग विपद् उपशाखामा कार्यरत छन्।

जेठ ४, २०८२ आइतबार १३:५५:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।