‘संसद् त आत्मसम्मानलाई धितो राख्नुपर्ने ठाउँ पो रहेछ’

‘संसद् त आत्मसम्मानलाई धितो राख्नुपर्ने ठाउँ पो रहेछ’

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद रोशन कार्कीले संसद् जनतालाई ढाँट्ने थलो बनेको बताएकी छन्।

आइतबारको संसद् बैठकमा बोल्दै उनले संसदलाई आत्मसम्मान धितो राख्ने ठाउँको संज्ञा दिँदै सरकार र सांसद दुवैप्रति गम्भीर असन्तोष व्यक्त गरिन्।

‘बाहिरबाट हेर्दा संसदको महिमा देखिन्थ्यो,’ उनले भनिन्, ‘भित्र पसिसकेपछि मात्र थाहा भयो-यो त ढाँट्ने ठाउँ पो रहेछ। आत्मसम्मानलाई धितो राख्नुपर्ने ठाउँ पो रहेछ।’ उनले संसदभित्र उठाइने गम्भीर विषयहरू नसुन्ने प्रवृत्तिको आलोचना गर्दै भनिन्, ‘यहाँ बोले पनि नसुनिँदो रहेछ, कुर्सीहरू खाली रहँदो रहेछ, अनि सांसदको मुखबाट सरकार जनतालाई ढाँट्दो रहेछ।’

सांसद कार्कीले संसदभित्रको वातावरणप्रति पनि असन्तुष्टि पोखिन्। ‘हामी महत्वपूर्ण विषयमा छलफल गरिरहेका हुन्छौँ, तर उता मान्यज्यूहरू खासखुस गरिरहेका, मोबाइलमा गेम खेलिरहेका देखिनुहुन्छ,’ उनले भनिन्, ‘सरकार निरंकुश बन्दै गएको छ। लेख्ने-बोल्ने स्वतन्त्रता खोसिँदै गएको छ। गणतन्त्रले नेपाली जनतालाई दिएको उपहार यस्तै हो र?’

जेठ ४, २०८२ आइतबार १३:४०:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।