नोरासँगै नाचे नेपाली

काठमाडौं : शनिबार बौद्धस्थित हयात मैदानमा ‘नोरा फतेही लाइभ इन नेपाल’ कार्यक्रम भयो जहाँ भारतीय नृत्याङ्गना नोरा फतेहीले आफ्ना हिट गीत र जोशिला स्टेप्सले हजारौँ दर्शक झुमाइन् ।
पहिलोपटक नेपाल आएकी नोराले स्टेजमा उत्रँदै नेपाली आतिथ्य,माया र उर्जाले प्रेरणा दिएको बताइन्। ‘नेपालीहरूले मेरो गीतमा गर्ने डान्स क्लिप हेर्छु, साथीहरूले त माया भरिएका म्यासेजहरू पनि पठाउँछन् । आज यहाँको माया र ऊर्जाले ठूलो प्रेरणा दियो,” उनले भनिन् ।
उनले मञ्चमा बोलाइन् नेपाली नृत्य कलाकार सुशान्त खत्रीलाई । ‘मेरो नेपाली साथी सुशान्त धेरै प्रतिभाशाली छन्,’ दुवैले ‘गेहरा समन्दर’ मा जोशिला स्टेप पस्के। दर्शकले ‘हुटिङ’ गरे ।
दर्शकको भिडमा नाँची रहेका नेपाली कन्टेन्ट क्रिएटर गौरब सिटौलालाई चिनेर उनले अप्रत्याशित रुपमा स्टेजमा बोलाइन। जसले माहोललाई झनै ततायो। उनीहरूले एक साथ ‘दिलवर’ मा प्रस्तुति दिए । गौरवले नोरासँग स्टेज सेयर गर्न पाउदा खुसी व्यक्त गरे।
२३ सदस्यीय नृत्य टोलीसहित करिब ४० मिनेटसम्म नोरा फतेहीले ‘स्नेक डान्स’ बाट कार्यक्रम सुरु गरी ‘कुसु कुसु’, ‘ओ साकी साकी’, ‘नाच मेरी रानी’ लगायतका गीतमा दर्शकलाई नचाइन् ।
‘नेपालमा दर्शकले देखाउनुभएको माया र आतिथ्यताले मलाई झनै ऊर्जा थपिएको छ । यहाँ मैले निकै माया पाएकी छु, यो सुन्दर देशका मानिस पनि सुन्दर छन्’, फतेहीले भनिन्।
यही जेठ ३ गते शनिबार बिहान आफ्ना दुई सहयोगीसहित काठमाडौँ आइपुगेकी अभिनेत्री फतेही आज आइतबार बिहान संयुक्त अरब इमिरेटस् उडिन।
कार्यक्रम ‘ह्युमन रेस्पेक्ट नेपाल’को सहयोगका वल्र्डवाइड फिल्मस्का देव मगर र मनु मिडियाका मनिष कार्कीले आयोजना गरेका थिए।
कार्यक्रममा अभिनेत्री फतेहीका साथै नेपाली कलाकारहरू गायक दुर्गेश थापा, नृत्याङ्गना तेरिया मगर र समर्पण लामा र ‘भ्वाइस अफ नेपाल सिजन ६’ का पाँच कलाकार प्रोसेस पाण्डे, रोशन राई, अर्पणा आचार्य, प्रमेश राई तथा इन्द्रकला राईले पनि आ-आफ्नो प्रस्तुति दिएका थिए।
जेठ ४, २०८२ आइतबार १३:२४:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।