बाढीको जोखिम हटाउन गाउँले जुटे, श्रमदानमै पर्खाल ठडाए

बाढीको जोखिम हटाउन गाउँले जुटे, श्रमदानमै पर्खाल ठडाए

रामेछाप : गएको भदौ र असोजमा तामाकोशी नदीको बाढीले रामेछापको गाइखुरा गाउँ नजिकै कटान गर्यो। प्राकृतिक विपद्का सामना गर्न सरकारबाट केहि योजना आउछ की आशा सिंगो माझी समुदायमा थियो। तर त्यसो भएन। गाउँलेहरू जुटे, निष्कर्ष आयो- तारजाली लगाउने। अनि सुरू भयो श्रमदान। 

विपद् व्यवस्थापन समिति रामेछापमार्फत पाँच लाख रुपैयाँ सहयोग आयो। करिब १५ मिटर जाली भरे, खेलमैदान सम्याए, इनारको संरक्षण गरे- तर त्यो रकमले सबै काम धान्न सकेन।

गाउँले बालकृष्ण माझी भन्छन्, ‘तारजाली लगाउने काम अपुरो भयो, त्यसपछि बुढापाकाहरूले सुझाए- पुरानै शैलीको फुको गाह्रो लगाऔं। पहिले पनि यस्तो पर्खालले नदीको कटान थामेको थियो।’

त्यसपछि गाउँलेहरू श्रमदानमा जुटे। बिहान ५ बजेदेखि ढुङ्गा तताउने बेलासम्म काम। महिला-पुरुष सबै सरिक भए। तिहारको देउसीबाट जम्मा भएको पैसाले खाजाको व्यवस्था गरियो। 

एक हप्ता लगातार ४०-५० जना गाउँलेहरूले श्रमदान गरेर लामो सुक्खा पर्खाल उठाए। गाउँको यो पर्खालले गाइखुराका ८५ घरधुरीलाई जोखिमबाट जोगाउने स्थानीयको विश्वास छ।

जेठ ४, २०८२ आइतबार १२:५७:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।