सगरमाथा संवादमा इलामे चियाको स्वादले विदेशी दंग

काठमाडौं : सगरमाथा संवादको मेलोमा इलामको ताजा अर्ग्यानिक चियाले विदेशी पाहुनाको मन जितेको छ। सूर्योदय नगरपालिकाको संयोजनमा संवादस्थल होटल सोल्टीमा राखिएको विशेष चिया प्रदर्शनी कक्षमा थरिथरिका स्वादयुक्त चिया राखिएको छ जहाँ विदेशी तथा स्वदेशी सबैले चियाको ‘टि टेस्टिङ’को मजा लिएका छन्।
इलामको 'टि स्टेशन इन्क' का अध्यक्ष प्रज्वल प्रधानका अनुसार, यो प्रदर्शनी कक्षप्रति विदेशी पाहुनाहरू निकै आकर्षित भए। ‘धेरैले चियाको स्वाद लिँदै नेपालका चियाको गुणस्तर र विविधता बारे जानकारी लिएका छन्। यस्तो अन्तरराष्ट्रिय मञ्चमा सहभागी भएर नेपाली चियाको प्रचारप्रसार गर्न पाउनु हाम्रो लागि पनि गौरवको कुरा हो,’ अध्यक्ष प्रधानले भने।
सगरमाथा संवादमा सहभागी थुप्रै पाहुनाले प्रदर्शनी कक्ष अवलोकन गरे, चिया चाखे र नेपालका अर्ग्यानिक चियाको स्वादलाई प्रशंसा गरे। अध्यक्ष प्रधानले यस्ता अन्तर्राष्ट्रिय सम्मेलनहरू भविष्यमा पनि नेपाली चिया प्रवर्द्धनको प्लेटफर्म बन्न सक्ने बताए।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पनि नेपाली चियालाई विश्व बजारमा चिनाउनका लागि यो अवसर उपयोग गरिएको जानकारी दिए। ‘सगरमाथा संवादमा सहभागी विदेशी पाहुना र प्यानलिस्टलाई हामीले इलामको अर्ग्यानिक चिया उपहारस्वरूप दिएका छौँ, यसको प्रायोजन पर्यटन बोर्डले नै गरेको हो,’ उनले भने।
जेठ ४, २०८२ आइतबार ११:३४:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।