‘सगरमाथा संवाद’का पाहुनाले गरे ‘माउन्टेन फ्लाइट’

काठमाडौं : पहिलोपटक नेपालमा आयोजना भइरहेको अन्तर्राष्ट्रिय ‘सगरमाथा संवाद’मा सहभागी विशिष्ट विदेशी पाहुनाहरूलाई सगरमाथा सहितका प्रमुख हिमशृङ्खलाको हवाई दृश्य अवलोकन गराइएको छ।
‘माउन्टेन फ्लाइट’ मार्फत गरिएको यो अवलोकन भ्रमणमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीको नेतृत्वमा विदेशी प्रतिनिधिमण्डल थियो। कार्यक्रमको समन्वय परराष्ट्र मन्त्रालय र नेपाल पर्यटन बोर्डले संयुक्त रूपमा गरेका थिए।
एक घण्टासम्म चलेको पर्वतीय उडानका क्रममा पाहुनाहरूले सगरमाथा, मकालु, नुप्से, गौरीशङ्करलगायत थुप्रै हिमशिखरको मनोरम दृश्य नजिकबाट अवलोकन गरे।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीका अनुसार, साहसिक पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले ‘सगरमाथा संवाद’का पाहुनालाई यो हिमशृङ्खला भ्रमण गराइएको हो।
‘जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्य’ विषयमा केन्द्रित रहेर सञ्चालन गरिएको यो सगरमाथा संवादमा नेपालसहित विभिन्न मुलुकका गरी ३५० भन्दा बढी विशिष्ट व्यक्तिहरू सहभागी छन्।
नेपालका केही निजी वायुसेवा कम्पनीले नियमितरूपमा पर्वतीय उडान सञ्चालन गर्दै आएका छन्, जसअन्तर्गत हरेक बिहान करिब ७ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान हुन्छ।
एक घण्टाको यो हवाई यात्रामा विश्वको सर्वोच्च शिखर सगरमाथा लगायत दर्जनभन्दा बढी हिमशिखरहरूको अवलोकन गर्न सकिन्छ।
जेठ ४, २०८२ आइतबार १०:५१:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।