बजेट आयो, काम भएन- स्थानीय आफैँ जुटे पुल बनाउन

तुलसीपुर : दाङ-रोल्पा सडकखण्डको बीचमा पर्ने ग्वारखोलामा अझैसम्म पुल बनेको छैन। बर्खा लागेपछि खोलामा पानी बढ्दा आवतजावत ठप्प हुने स्थिति छ। बजेट आउने तर काम नहुने अवस्था भयो। यसपालि पनि पुल बन्ने अवस्था नदेखेपछि स्थानीय आफैँ श्रमदान गरेर पुल बनाउन कस्सिएका छन्।
रोल्पाको रुन्टीगढी गाउँपालिकाबाट दाङको विजौरीतर्फ आउजाउ गर्ने मुख्य बाटो यही हो। व्यापारीदेखि बिरामी, विद्यार्थी सबै यही बाटो भएर ओहोर–दोहोर गर्छन्। तर, खोलामा मोटरेबल पुल नहुँदा बर्खायाममा हिँडडुल नै जोखिमपूर्ण बन्छ।
सरकारले चालु आर्थिक वर्षमा पुलका लागि १ करोड ३० लाख रुपैयाँ बजेट छुट्याएको थियो। तर स्थानीय प्रशान्त पुन भन्छन्- ‘काम सुरु होला भन्ने लागेको थियो, सुन्नमा त आयो- बजेट अर्कै ठाउँमा गयो रे।’
२०७० सालमा सडकको ट्र्याक खुले पनि अझैसम्म ग्वारखोलामा पुल नबनेपछि अब स्थानीय आफैँले मोटरसाइकल तर्न मिल्ने पुल बनाउन थालेका छन्। ‘बर्खा आउँदैछ, बाटो बन्द हुने अवस्था छ, बिरामी पर्दा कष्ट भोग्नुपर्छ,’ प्रशान्तले भने, ‘त्यसैले हामी आफैँ श्रमदान गरेर पुल बनाउन थालेका हौं ।’
पुल निर्माणका लागि सिमेन्ट र सरिया स्थानीय स्रोतबाट जुटाउने प्रयास भइरहेको छ । ‘हामीसँग हाल पैसा छैन, जसोतसो आर्थिक सहयोग संकलन गरेर काम अघि बढाउँदैछौं,’ स्थानीय लालबहादुर पुनले भने। मिस्त्रीको ज्यालासहित केही प्राविधिक खर्च चाहिने भएकाले थप सहयोगको अपेक्षा गरिएको छ।
विजौरी उद्योग वाणिज्य संघका अध्यक्ष रेश्मीराज खड्काले गुनासो गरे- ‘सरकारले बाटो त बनायो तर पुल नबनाउँदा आधा काम जस्तै भएको छ। खोलामा पुल भए यहाँ उत्पादन भएको तरकारी सजिलै विजौरी बजार ल्याउन सकिन्थ्यो।’ उनले सडक र पुल निर्माणका लागि पहल जारी राख्ने बताए।
विजौरीदेखि होलेरीसम्म २९ किलोमिटर दूरीमा अहिले पाँच किलोमिटर होलेरीतर्फ र नौ किलोमिटर विजौरीतर्फको बाटो कालोपत्र भएको छ। बाँकी १५ किलोमिटरको अवस्था भने जस्ताको त्यस्तै छ।
जेठ ४, २०८२ आइतबार १०:३०:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।